गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच कार्यसम्पादन सम्झौता
सिमकोट । सिमकोट गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिकाका सबै शाखासँग कार्य सम्पादन सम्झौता गरेको छ।
वार्षिक रूपमा गाउँपालिकाले गर्ने नियमित काम, प्रशासकीय काम, नीति निर्माण, अनुगमन तथा मूल्यांकन र भ्रष्टाचार नियन्त्रणजस्ता कार्यलाई समेटेर गाउँपालिकाका अध्यक्ष विजय भण्डारी र निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाबीच वार्षिक कार्यसम्पादन सम्झौता गरिएको हो।
साउनबाट लागू हुनेगरी गाउँपालिकाको कार्यालय प्रशासकीय अधिकृतसँग कार्यसम्पादन सम्झौता भएको अध्यक्ष भण्डारीले बताए ।
सम्झौतामा गाउँपालिकाको नियमति काम र भ्रष्टाचारको शून्यसहनशीलता अपनाउने, शून्य बेरुजु बनाउने, पालिकाका सबै सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यसाथ कार्यसम्पादन सम्झौता भएको हो।
सम्झौतामा प्रशासकीय अधिकृतले गाउँपालिकाको विकासको प्रगति र अवस्थाबारे मासिक, चौमासिक र वार्षिक प्रगति प्रतिवेदन गाउँपालिकाका अध्यक्षमार्फत गाउँपालिकामा पेस गर्ने, पालिकाको वित्तीय अनुुशासन कायम गर्न प्रचलित आर्थिक तथा वित्तीय एवं सार्वजनिक खरिद ऐन, नियम, कार्यविधि पूर्णरूपमा कार्यान्वयन गर्दै सबै काम सूत्र प्रणालीबाट काम गर्ने उल्लेख गरिएको छ।
यसैगरी, प्रशासकीय अधिकृतले गाउँपालिकालाई आवश्यक पर्ने कानुन, कार्यविधि तर्जुमालाई प्राथमिकता दिने, म भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्न भन्ने नीति अवलम्बन गर्दै पालिकामा ‘शून्य बेरुजु’ को नारा कार्यान्वयन गर्ने विषयलाई प्राथमिकता दिइएको छ।
पालिकाको राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वबीच भएको कार्यसम्पादन सम्झौतमा पालिकाको तथ्यांक र अभिलेख व्यवस्थापन गर्दै अभिलेख गर्ने कार्यलाई प्राथमिकता दिने, सार्वजनिक जवाफदेहिता प्रवद्र्धनका लागि सार्वजनिक सुनुवाइ, सार्वजनिक परीक्षण तथा सामाजिक परीक्षणजस्ता क्रियाकलापको कार्यान्वयन गर्ने सहमति भएको छ।
सम्झौताले गाउँपालिकाको नियमित प्रगतिको मापन गर्ने उल्लेख गर्दै अध्यक्ष भण्डारीले पाँच वर्षको अवधिमा आफूले लिएको विकासको लक्ष्यलाई प्राप्त गर्न टेवा पुर्याउने विश्वास व्यक्त गरे। जिल्लाका अन्य गाउँपालिकाले यो सम्झौता गरेका छैनन्। अघिल्लो कार्यकालका जनप्रतिनिधिले पनि गरेका थिएनन्।
यसैबीच, पालिकाका अध्यक्ष र उपाध्यक्षसँग वार्षिक कार्यसम्पादन सम्झौता गरेका सिमकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रोकायाले पालिकाको कामलाई थप प्रभावकारी बनाउन पालिकाका प्रत्येक शाखासँग समेत बेग्लाबेग्लै कार्यसम्पादन सम्झौता गर्नेछन्। अधिकृत रोकायाले तत्काल केही शाखासँग सम्झौता गरिसकेको र बाँकी शाखासँग साउनभित्र सम्झौता गरिसक्ने भएका छन्।