फक्ताङ्लुङ गाउँपालिकालाई चीनले दियो स्काभेटर

पालिका संचारकर्मी
२१ श्रावण २०७९, शनिबार १४:५९

 

फुङ्लिङ । चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकालाई मित्रराष्ट्र चीनले अनुदानमा स्काभेटर उपलब्ध गराएको छ । चीनसँग सीमा जोडिएको स्थानीय तहको विकास निर्माणका लागि चीनले सो स्काभेटर उपलब्ध गराएको हो ।

फक्ताङलुङ गाउँपालिका–७ ओलाचुङगोलामा रहेका टिप्ताला नाका बन्द रहेकाले सिन्धुपाल्चोक जिल्लाका तातोपानी नाकाबाट गत साता फक्ताङ्लुङ गाउँपालिकामा स्काभेटर ल्याइपुर्‍याएको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ ।

तातोपानी नाकादेखि ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा एक सातामा र फुङ्लिङदेखि दुई दिनमा फक्ताङ्लुङ गाउँपालिका क्षेत्रमा स्काभेटर पुर्‍याइएको गाउँपालिकाले जनाएको छ ।

स्काभेटर एक करोड ३५ लाख रुपैयाँ बराबरको रहेको गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए । उनका अनुसार चीनदेखि नेपाल ल्याउनका लागि लाग्ने भन्सार शुल्क २५ लाख रुपैयाँ नेपाल सरकारले छुट दिएको छ । नेपाल सरकारले भन्सार शुल्क छुट दिएसँगै तातोपानी नाकादेखि ढुवानी शुल्क मात्र गाउँपालिकाले बेहोर्नुपरेको अध्यक्ष लिम्बूले बताए ।

स्काभेटर गाउँपालिका पुगेसँगै गाउँपालिकाभित्रका सडक मर्मत गर्न थालिएको छ । निरन्तर वर्षाका कारण सदरमुकाम फुङ्लिङदेखि गाउँपालिकाको केन्द्रसम्म पुग्ने सडक अवरुद्ध भएको थियो । ठाउँठाउँमा सडक अवरुद्ध हुँदा दैनिक सवारीसाधन चलाउने व्यक्तिले सास्ती खेप्दै आएका थिए तर अहिले स्काभेटरले सडक मर्मत गर्न थालेसँगै दैनिक यातायातमा सहजता आएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाभित्र ठाउँ ठाउँमा सडकको ट्र्याक खोलिएकामा अब तिनको मर्मत तथा स्तरोन्नति गर्ने काम गाउँपालिकाले गर्ने पालिका अध्यक्ष लिम्बूले बताए । उनले भने, ‘विगमा झैं सडकका नाममा रकम विनियोजन गर्नेभन्दा सडक मर्मत तथा स्तरोन्नतिको काम गाउँपालिका आफैंले गर्नेछ । स्काभेटरलाई इन्धनमात्र खरिदका लागि मात्र बजेट विनियोजन हुन्छ ।’ लिम्बूका अनुसार सबै वडादेखि पालिका केन्द्रसम्म बाहै्र महिना यातायात सञ्चालन हुने गरी पालिकाले सडक मर्मत गर्नेछ । गाउँपालिकाभित्रका कृषि सडकका लागि गाउँपालिका आफैंले ट्र्याक खोल्ने मर्मत गर्ने भएको छ ।

विगतमा झैं कृषि सडकको ट्र्याक खोल्ने सडक मर्मत तथा स्तरोन्नतिमा ठूलो बजेट खर्च भएकामा आगामी दिन शिक्षा, स्वास्थ्य र उत्पादनमूलक क्षेत्रमा लगानी गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सडक मर्मत गर्न थालेसँगै स्थानीयवासी खुसी भएका छन् । बिरामी हुँदा, दैनिकरुपमा आवतजावत गर्न, आवश्यक सामग्री ढुवानी गर्न उनीहरुलाई सहज भएको छ ।