माओवादी जिल्ला इन्चार्जको शिक्षकमा पुनर्बहाली
मुगु । नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज मंगलबहादुर शाही पुनः शिक्षक पेसामा फर्किएका छन् । सोरु गाउँपालिका-६ सोरुकोट निवासी ५१ वर्षीय उनी २०४२ सालमा शिक्षक पदमा स्थायी भएका थिए ।
सोरुकोट युवा वर्ष आधारभूत विद्यालयमा कार्यरत शाही २०५८ सालमा स्वेच्छाले माओवादीमा लागी भूमिगत भएपछि ११ वर्षसम्म रिक्त रहेको उक्त पदमा उनी पुनर्बहाली भएका हुन् ।
सर्वोच्च अदालतको फैसलापछि द्वन्द्वकालमा भूमिगत भएका शिक्षक शाही पुनर्बहाली भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सूर्यबहादुर खत्रीले कान्तिपुरलाई बताए ।
शिक्षकको नियुक्तिपत्र लिएर स्कुलमा फर्किने वा माओवादी पार्टी इन्चार्जमै रहेर राजनीतिक स्थापित गर्ने भन्ने शाहीको व्यक्तिगत विचारमा भर पर्ने उनको भनाइ छ ।
करिब ७ वर्षभन्दा धेरै समय भूमिगत जीवन बिताएका शाही २०६२/०६३ मा शान्तिपछि पार्टीको खुल्ला राजनीतिमा देखा परेका थिए ।
उनीसँगै छायाँनाथ रारा नगरपालिकाका बर्मासिंह नेपाली खत्याड गाउँपालिकाका नरबहादुर रावल र सप्तरीका रामलाल मुखिया पनि शिक्षक पदमा पुनर्बहाली भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।