झाडा पखालाले ७ वर्षीया बालिकाको मृत्यु, ३ जनाको उपचार जारी
राजपुर । झाडा पखालाका कारण दाङमा एक सात वर्षीया बालिकाको मृत्यु भएको छ भने थप तीन जना बिरामीको उपचार जारी छ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार राजपुर गाउँपालिका वडा नं. ७ गजमिरेकी ७ वर्षीया बालिका सम्झना परियारको मृत्यु भएको हो।
गजमिरे नेपाल–भारत सीमा नाका क्षेत्रमा पर्दछ ।
गाउँ नजिकको स्वास्थ्य चौकीमा उपचार गराइरहेकी सम्झनाको बिहीबार मृत्यु भएको प्रहरी प्रवक्ता गौतमले बताए।
उनकी ४० वर्षीया आमा लालमती, ३ वर्षीया छोरी सपना र स्थानीय खिमबहादुर बुढाकी ३ वर्षीया छोरी अस्मिता बुढाको उपचार जारी छ।
उनीहरूको उपचार स्थानीय सामुदायिक उपचार केन्द्रमा भइरहेको छ। प्रहरी प्रवक्ता गौतमले झाडा पखाला फैलिएको गजमिरे गाउँमा स्थानीय प्रहरी न्युनिटलाई खटाइएको र स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मीलाई सघाउन आग्रह गरिएको जानकारी दिए।
सीमा नाका क्षेत्रमा शुद्ध पिउने पानीको समस्या रहेको छ। उनीहरू स्थानीय खोला वा जरुवाको पानी पिउने हुँदा त्यहीबाट संक्रमण फैलिएको आशंका गरिएको छ।