सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन मेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा
काठमाडौं । सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन मेयर उपेन्द्रबहादुर थापासहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पञ्चपुरी नगरपालिकाले उद्यमशीलता साझेदारी परियोजनाअन्तर्गत नमुना गाउँ निर्माण कार्यक्रम सञ्चालनका लागि नमुना समाज सुर्खेतसँग सम्झौता गरी रकम भुक्तानी गर्दा दुई करोड २० लाख रुपैयाँ भ्रष्टाचार गरेको दाबी गर्दै अख्तियारले आज मुद्दा दायर गरेको हो । अख्तियारले पञ्चपुरी नगरपालिकाका तत्कालीन मेयर उपेन्द्रबहादुर थापाविरुद्ध ५० लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको छ ।
यसैगरी पञ्चपुरीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पित्रीभक्त गिरीविरुद्ध ३० लाख रुपैयाँ, अर्का प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटाविरुद्ध २० लाख रुपैयाँ र लेखा अधिकृत मोहनबहादुर बुढाविरुद्ध ५० लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
साथै लेखापाल लक्ष्मीप्रसाद अधिकारीविरुद्ध २० लाख र नमुना समाज सुर्खेतका कार्यकारी निर्देशक लालबहादुर जीएम, नमुना समाज सुर्खेतका अध्यक्ष भूमिसरा पुलामी र नमुना समाज सुर्खेतको हकमा ५० लाख रुपैयाँ बिगो कायम गरी सजाय र बिगो रकमसमेत जफत गर्न अख्तियारले मागदाबी गरेको प्रवक्ता भोला दाहालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।