हेटौंडामा गाइ पालनमा रमाएका पौरखी दम्पति
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ भोर्लेमा एउटा परिवार आफ्नै मेहनतमा रमाइरहेको छन् । पैसा कमाउनका लागि बिदेश जानुपर्छ भन्दा पनि स्वदेशमानै केही गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् भोर्लेका प्रबिण ढुंगानाको दम्पति । सरकारी र गैरसरकारी क्षेत्रका जागिर भन्दा पनि आफ्नै मेहनतमा धेरै पैसा कमाउन सकिन्छ भन्ने उदेस्यले दंगालले बिगत चार वर्ष अगाडि देखि व्यावसायीक रुपमा गाइपालन गर्दै आउनु भएको छ ।
अहिलेको घास नपाउने समयमा पनि प्रबिण दंगाल र उहाँकी श्रीमती रमा चौरेल मिलेर नौ वटा गाइ पालन गर्नु भएको छ । गोठमा लस्करै गाइहरु बाधिएका छन् । गाइ पालनबाट आमदानी पनि राम्रै हुने गरेको छ । पछील्लो समयमा ढुटो, चोकर, दाना, परालको मुल्य बढेपनि गाइको दूध बिक्रीबाट बार्षिक १३ लाख रुपैयाँ सम्म आमदानी गरेको दंगाल बताउनुहुन्छ ।
गाइलाई घाँस काट्ने, दाना पानी दिने, गाइ दुहुने, सरसफाइ गर्ने सबै काम श्रीमान श्रीमतीले भ्याएका छन् । स्नाकोत्तर तहको पढाइ भएपनि आफ्नै मेहनतबाट खुसी मिलेको चौरेल बताउनुहुन्छ । भोर्लेमा बहुउदेशिय कृषि तथा पशुपालन फार्म खोलेर उनीहरुले गाइ पालनको काम चार वर्ष अगाडी सुरु गरेका हुन् ।
आफ्नै गोठ नजिकको २ बिगाहा बारीमा घाँस लगाएर त्यही घाँस गाइलाई खुवाउने गरिएको छ । बारीमा मकै र अरु अन्न बाली भन्दा पनि घाँ लगाउँदा बढी फाइदा पुग्ने गरेको दंगाल बताउनुहुन्छ । घाँस आफ्ना गाइलाई खुवाउने कामसंगै घाँसको बिउ पनि बिक्री बितरण गर्दै आउनु भएको छ । बार्षिक दुइ लाख ५० हजार रुपैयाँ बराबरको घाँसको बिउ पनि बिक्री बितरण गर्दै आउने गरेको उहाँ बताउनुहुन्छ । अहिलेको सुख्खा सिजनमा समेत दैनिक ३० लिटर दुध नजिकैको सहकारीमा बिक्री गर्ने गरिएको छ ।
निकै मेहनती दंगाल दम्पतिलाई गाइ पालनमा थप सहज होस भनेर बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगतको प्रदेश युवा परिषद् हेटौंडाले यस बहुउदेशिय कृषि तथा पशुपालन फार्मलाई एक लाख रुपैयाँको अनुदान बितेको आर्थिक वर्षमा दिएको थियो । त्यो अनुदान रकमबाट पानी तान्ने पम्प र घाँस काट्ने मेसिन खरिद गरेपछी धेरै सहज भएको उनीहरु बताउँछन् ।
स्वदेशमानै केही मिहेनत गरेर आयआर्जनमा जोडिनका लागि गाइ पालन गर्ने युवाहरुलाई सहयोग गरिएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले बताउनुभयो । हरेक क्षेत्रका युवाहरुलाई आयआर्जनमा सहयोग गर्ने उदेस्यले अनुदानका कार्यक्रम ल्याइएको चौलागाईले बताउनुभयो । प्रदेश युवा परिषद्को सानो अनुदान रकमले पनि युवाहरुमा स्वदेशमानै मेहनत गर्ने र आमदानी गर्ने परिपाटीको बिकास गर्न पनि सहयोग पुगेको चौलागाईले बताउनुभयो ।