महिलाको फोटो दुरुपयोग गरी ठगी गर्ने दुई पक्राउ

पालिका संचारकर्मी
१७ कार्तिक २०८०, शुक्रबार १६:५४

१७ कात्तिक, काठमाडौं।

सामाजिक सञ्जालबाट महिलाको फोटो दुरुपयोग गरी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक संजालमा फोनमार्फत् महिलालाई सम्पर्क गर्न सकिने र महिलाको फोटोसमेत उपलब्ध गराएर छनौट गरेअनुसारको मूल्य तिरेपछि केटी उपलब्ध गराइने भन्दै समाजिक संजालमार्फत् ठगी गरेको आरोपमा प्रहरीले उनीहरुलाई बिहीबार बिराटनगरबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङको बिराटनगर -६ का २४ वर्षीय गौरब जैन र भोजपुरको भोजपुर -९ का ३३ वर्षीय शैलेन्द्र श्रेष्ठ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी (प्रहरी उपरीक्षक ) रविन्द्र रेग्मीले जानकारी दिनुभयो । रेग्मीका अनुसार थप अनुसन्धान तथा कारबाहीका लागि उनीहरुलाई जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको छ ।