जाजरकोट भूकम्प : एक शिक्षक र ११ विद्यार्थीको मृत्यु, २ सय १३ विद्यालयमा क्षति

पालिका संचारकर्मी
२० कार्तिक २०८०, सोमबार १२:१४

२० कात्तिक ,जाजरकोट।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रबार गएको भूकम्पमा परेर एक जना शिक्षक र ११ जना विद्यार्थीको मृत्यु भएको छ । २ शिक्षक र २० विद्यार्थी घाइते भएको प्रारम्भिक विवरण संकलन भएको जिल्ला शिक्षा विकास समन्वय इकाईका सूचना अधिकारी तिलकप्रसाद भट्टराईले बताए ।

भूकम्पले जाजरकोटका २ सय १३ विद्यालयमा क्षति पुगेको छ । आइतबार साँझसम्म प्राप्त विवरणअनुसार ९१ विद्यालय पूर्ण रुपले क्षति भएको र १ सय २२ विद्यालयमा आंशिक क्षति पुगेको हो । सूचना अधिकारी भट्टराईका अनुसार ३ सय ६६ कक्षा कोठा पूर्ण रुपमा क्षति भएका छन् ।

४ सय ७६ कोठामा आंशिक क्षति पुगेको छ । विद्यालयका ४३ शौचालय, ११ वटा आइसिटी ल्याव, १ पुस्तकालय, ७ विद्यालयका घेराबार र ४ विद्यालयका सोलार सिस्टममा पूर्ण क्षति भएको छ । त्यस्तै ३५ शौचालयमा आंशिक क्षति भएको र विवरण संकलन कार्य जारी रहेकाले क्षतिको विवरण बढ्न सक्ने शिक्षा इकाई कार्यालयले जनाएको छ ।