विश्वकप फाइनल : अहमदाबादमा होटेल भाडा दुई लाख, हवाई टिकट तीन गुणासम्म महँगो

पालिका संचारकर्मी
३ मंसिर २०८०, आईतवार १३:१०

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनल आज हुँदै छ । भारतको अहमदाबादमा हुने फाइनलमा उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्दै छन् । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने खेल एक लाख बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्नेछन् ।

फाइनल खेल शुरू हुनै लाग्दा अहमदाबादमा महँगी उच्च बढेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । होटेलको भाडा उच्च दरले बढेको छ । यस्तै फ्लाइट टिकट पनि तीन/चार गुणा महँगोमा बिक्री भइरहेको समाचारमा उल्लेख छ ।

राम्रा होटेलमा एक रात बसेकै भाडा दुई लाख बढी भारतीय रुपैयाँ पुगेको छ । स्टार होटेलमा एक लाखमुनिमा कोठा पाउनै गाह्रो छ ।

सामान्य होटेलको भाडासमेत एक रातको १० हजार बढी पुगेको छ । दिल्लीदेखि अहमदाबादको हवाई भाडा मात्रै १५ हजार पुगेको छ ।