चोरीको मोटरसाइकलसहित ७ जना पक्राउ
बाँके । केही महिनायता बाँकेमा चोरीका मोटरसाइकलको स्वरूप नै फेरेर बेच्दै आएको गिरोह फेला परेको छ । दुई महिना यता मात्र बाँकेमा २२ वटा मोटरसाइकल चोरी भएका छन् । चोरी भएका सात वटा मोटरसाइकलसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपालगन्ज उपमहानगर क्षेत्रमा पछिल्लो समय मोटरसाइकल तथा स्कुटर चोरीका घटना बढेपछि प्रहरीले गरेको अनुसन्धानबाट यस्तो तथ्य खुलेको हो । उपमहानगर क्षेत्रमा दिनहुँजसो स्थानीय बासिन्दाका घर, पसल तथा कार्यालयअगाडि पार्किङ गरेर राखिएका मोटरसाइकल तथा स्कुटर चोरी हुने गरेका छन् ।
दिनहुँ मोटरसाइकल तथा स्कुटर चोरी हुन थालेपछि नेपालगन्ज उपमहानगरवासी आतंकित भइरहेका छन् । पीडितले दिनहुँ जिल्ला प्रहरी कार्यालय बाँकेमा चोरीका घटना टिपाउने गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले चोरीका मोटरसाइकलको स्वरूप परिवर्तन गरेर चलाइएको पाइएको बताए ।