१५ करोडमा बिकेको यो रातो स्वीटरमा के छ ?
तपाईंले हजारौं तथा लाखौ रुपैयाँसम्म मूल्य पर्ने महंगा महँगा कपडा देख्नु भएको छ होला । तर के १५ करोड रुपैयाँभन्दा धेरै पर्ने एउटा स्वेटर देख्नु भएको छ ?
एउटा रातो रङ्गको स्वीटर हालै करिब १५ करोड १५ लाख रुपैयाँ बराबरको मूल्यमा लिलाम बिक्री भएको छ।
उक्त स्वीटरको लिलाममा बोली लगाउनका लागि धनाढ्यहरुबीच होडबाजी नै चलेको थियो ।
अमेरिकाको न्युयोर्कस्थित सोथबीमा गत अगष्ट ३१ मा उक्त स्विटरको लिलामी भएको थियो । जहाँ उक्त स्वेटर ११ लाख ४० हजार डलरमा लिलाम भएको थियो ।
लिलाम गर्ने कम्पनीलाई सो स्वीटर करिब आधा करोड रुपैयाँ सम्ममा बिक्री हुनसक्ने अपेक्षा थियो । तर त्यसको कैयौँ गुणा बढी मूल्यमा स्वीटर लिलाम भयो । स्वीटर खरीदकर्ताको नाम चाहिं खुलाइएको छैन ।
देख्दा निकै सामान्य देखिने उक्त स्वीटर आखिर किन करोडौं मूल्यमा बिक्री भयो त ?
यसको विशेष कारण छ । वास्तवमा यो स्वीटर जो व्यक्तिले पहिरिएका थिए उनकै कारण यो बहुमूल्य बनेको हो ।
नबनोस् पनि किन ?उक्त स्वीटर बेलायती पूर्व युवराज्ञी डायनाले लगाएको स्वेटर हो । यहीँ स्वेटर लगाएका उनका कैयौँ तस्वीरहरु सार्वजनिक छन् ।
डायनासँग सम्बन्धित सरसामानहरु पछिल्लो समयमा एक एक गरी लिलाम भैरहेका छन् ।
उनको बिहेको फोर्ड कार पनि लिलाम भैसकेको छ । तर सबैभन्दा महँगोमा भने उनको स्वीटर बिक्री भयो । सो स्वीटरको डिजाइनलाई बेलायती राजपरिवारमा डायनाको स्थानको प्रतिकको रुपमा लिइएको छ । जहाँ रातो रङ्गको पृष्ठभूमिमा सेतो रङ्गका भेडाहरु छन् । ती सेता भेडाहरुको बीचमा एउटा भने कालो रङ्गको भेडा छ ।