अयोध्यामा बनेको राम मन्दिरमा आज प्राण प्रतिष्ठा हुँदै
काठमाडौं। भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा रामलला (भगवान रामको बाल स्वरुप)को मूर्तिमा आज (सोमबार) प्राण प्रतिष्ठा गरिँदैछ। प्राण प्रतिष्ठा समारोह स्थानीय समयानुसार मध्याह्न १२:२० बजे (नेपाली समयानुसार मध्याह्न १२:३५ बजे) सुरु हुनेछ।
राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका अनुसार रामललाको मूर्तिलाई आइतबार ११४ वटा घडाको जलबाट स्नान गरिएको थियो। विभिन्न तीर्थ स्थलबाट ल्याइएको ‘औषधियुक्त’ जल र पवित्र जलबाट मूर्तिलाई स्नान गरिएको थियो।
रामललाको नयाँ ५१ इन्चको मूर्तिलाई पछिल्लो बिहीबार मन्दिरको गर्भगृहमा राखिएको थियो। यो मुर्तिलाई भारतको मैसुरका अरुण योगराजले बनाएका हुन्। प्राण प्रतिष्ठाको पूजाका लागि १४ जोडी ‘यजमान’ हुने बताइएको छ।
मूर्तिमा प्राण प्रतिष्ठाका लागि आयोजित भव्य समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित विशिष्ठ व्यक्ति सहभागी हुनेछन्। प्राण प्रतिष्ठापछि मोदीले अयोध्यामा आयोजित जनसभालाई सम्बोधन गर्ने कार्यक्रम पनि छ।
भारतको सर्वोच्च अदालतले सन् २०१९ मा सुनाएको फैसलापछि अयोध्यामा नयाँ मन्दिर बनाइएको हो।
यद्यपि मन्दिरको पूर्ण निर्माण नहुँदै प्राण प्रतिष्ठा गर्न लागिएको भन्दै हिन्दू धर्मकै केही गुरु र सन्तहरुले भने विरोध जनाएका छन्। मन्दिरको पूर्ण निर्माणपछि मात्रै प्राण प्रतिष्ठा हुनुपर्ने उनीहरुको माग छ।