शुक्रराज शास्त्रीको सालिकमा माल्यार्पण गर्दै सुरु भयो शहीद सप्ताह
काठमाडौँ । विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिने शहीदहरूको सम्झनामा बुधवारदेखि शहीद सप्ताह सुरु भएको छ ।
माघ १० गते शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि टेकुको पचलीमा आफ्नो जीवन बलिदान दिएका थिए । सोही दिनको स्मरण गर्दै आजबाट उनको टेकुस्थित सालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्दै शहीद सप्ताह सुरु गरिएको हो ।
सो अवसरमा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले उनको सालिकमा माला र पुष्पगुच्छा अर्पण गरिन् । तत्कालीन जहानियाँ राणा शासकले विक्रम सवत् १९९७ माघ १० गते शास्त्रीलाई पचलीस्थित रुखमा झुन्डाएर मृत्युदण्ड दिएको थियो । यस्तै माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिएका थिए । सात दिन शहीद सप्ताह मनाएपछि माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ ।
कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले शुक्रराज शास्त्री नेपाल भाषाको व्याकरणमा कलम चलाउने पहिलो व्यक्ति भएको बताइन् । शास्त्री राजनीतिक आन्दोलनसँगै साहित्यमा पनि रुचि राख्ने व्यक्ति रहेको बताइन् ।
प्रजातन्त्र र लोकतन्त्र प्राप्तिका लागि भएका राजनीतिक आन्दोलनहरुमा धेरै व्यक्तिहरुले सहादत प्राप्त गरेका छन् । उनीहरुको सबैको योगदानलाई सप्ताहका कार्यक्रममा सम्झना गर्ने तथा कदर स्वरुप स्मृति सभा गरिँदै आएको छ ।