प्रदेश युवा सम्मेलनको तयारी पूरा, ८९ पालिकाबाट दुई सय युवाको सहभागिता

पालिका संचारकर्मी
२५ बैशाख २०८१, मंगलवार १७:१३

मकवानपुर । बागमती प्रदेश युवा परिषदको नेतृत्वमा हेटौंडामा हुने प्रदेश युवा सम्मेलनको तयारी पूरा भएको छ। सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषदले वैशाख २८ देखि ३० गतेसम्म गर्ने सम्मेलको तयारी पूरा भएको प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।

प्रदेश युवा सम्मेलन परिषदको वार्षिक कार्यक्रमको रूपमा स्थापित भएको छ। सम्मेलनमा १३ वटै जिल्लाको युवाहरुको सहभागिता रहने छ। सम्मेलनमा सहभागी युवालाई लक्षित गरी अन्तक्रिया, बहस, कार्यशाला, सहभागीबीच आपसी संजाल निर्माण, प्रेरक सन्दर्भको व्याख्या, नेतृत्व तथा व्यक्तित्व विकाससंग सम्बन्धित क्रियाकलाप गरिने छ। सहभागी युवालाई पर्यटकीयस्थलको पदयात्रासमेत गराइने छ।

सम्मेलनमा २ सय भन्दा बढी १६ वर्षदेखि ३० वर्ष उमेर समूहका युवाको सहभागि हुनेछन् ।युवालाई सामाजिक र सार्वजनिक जीवनमा सहभागी गराउने, उद्यमशीलता र नवप्रवर्तन विकास गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको उपाध्यक्ष चौलागाईले जानकारी दिनुभयो ।

रोयल प्यालेसमा तीन दिन सम्म चल्ने सम्मेलनमा विशेषगरि स्थानीय तह, सामुदायिक विद्यालय, कलेज, सामाजिक संस्थाहरूको समन्वयमा सञ्चालन गरिने र तालिम पश्चात् सामाजिक विकास मन्त्रालय, सीटीईभीटी र प्रदेश युवा परिषद्को त्रिपक्षीय सम्झौतामा सीप परीक्षण हुने उपाध्यक्ष चौलागाईंले बतानुभयो । विगतका तुलनामा केही फरक शैलीका तालिम प्रदान गरिने उहाँको भनाइ छ ।

सम्मेलनमा सहभागी हुन ५३७ जनाले अनलाइनमार्फत आवेदन दिएकामध्ये २ सय जनालाई पूर्ण समावेशी अवधारणामा छनोट गरिएको छ। सम्मेलनमा सहभागी हुने २ सय जना वागमती प्रदेशको ११९ पालिकामध्ये ८९ पालिकाका युवा रहेका छन् । जसमध्ये ५२ प्रतिशत पुरुष र ४६ प्रतिशत महिला रहेका छन् ।