जितुको ‘ज्वाइँसाब’ र दीपक–दीपाको ‘छक्का पञ्जा–५’ भिड्ने पक्का
काठमाडौं– यसपालीको दसैंको फूलपातीमा दुई नेपाली फिल्म हलमा लाग्ने भएका छन् । बक्स अफिसमा सर्वाधिक हिट सिरिज छक्का पञ्जाको पाचौँ सिक्वेल ‘छक्का पञ्जा–५’ तथा जितु नेपाल र नीति शाह शीर्ष भूमिका रहेको फिल्म ‘ज्वाइँसाब’ असोज २४ गते प्रदर्शनमा आउन लागेका हुन् ।
छायाकंनमा निस्किँदा जेठमै छक्का पञ्जा टिमले प्रदर्शन मिति फूलपातीलाई तोकेको थियो । प्रचार सामाग्रीका रुपमा यस फिल्मको गीत सोमबार सार्वजनिक भएको छ । यता जितु नेपालको फिल्म ‘ज्वाइँसाब’ले मंगलबार दुई पोस्टर सार्वजनिक गर्दै फूलापातीलाई नै प्रदर्शन मिति तोकेको छ । यससँगै यी दुई फिल्मले हलमा प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।
महानायक विवादमा मुछिएपछि जितुले ‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्षबाट दीपाश्री निरौलालाई निकालेका थिए । त्यसपछि जितु छक्का पञ्जा टिमबाट बाहिरिए । यही कारण जितु र छक्का पञ्जा टिमबीच सहकार्यको वातावरण बन्न सकेको छैन । ‘ज्वाइँसाब’ टिमले ‘छक्का पञ्जा५’ सँग प्रदर्शन मिति जुधाएपछि जितु र दीपाको ४ वर्ष पुरानो विवाद बल्झिएको छ । सामाजिक सञ्जालमा यो विवादले स्थान पाएको छ ।
आमा सरस्वती मुभिज र आईएमीको प्रस्तुतिमा बन्ने गरेको ‘छक्का पञ्जा– ५’ को निर्देशक दीपाश्री निरौला हुन् ।
त्यस्तै, रेड आई फिल्मस्ले मौसम फिल्मस्सँग सहकार्य गरेर निर्माण गरेको फिल्म ‘ज्वाइँसाब’को निर्देशक वसन्त निरौला हुन् । यसका निर्माता मीनादेवी खड्का सौगात पण्डित, पदमलाल तामाङ हुन् ।