राज्यको अधिकारभित्र रहेर पुर्जा वितरण गर्नेछौं–बागमती प्रदेशका उद्योगमन्त्री तामाङ

पालिका संचारकर्मी
७ कार्तिक २०८१, बुधबार १६:४२

हेटौंडा । बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले राज्यको अधिकारभित्र रहेर भूमिहीनलाई पुर्जा वितरण गर्ने बताएकी छन्। बुधवार, भूमि अधिकार तथा श्रमिक संगठन, नेपाल मकवानपुरले बुझाएको ज्ञापन पत्रमा मन्त्री तामाङ्ले भने, “कसैलाई पनि भूमिहीन बन्न नपरोस भन्ने उद्देश्यले मैले यो कार्यक्रम अगाडि बढाएको छु।”

मन्त्री तामाङ्ले थपिन्, “भुमिहीनको विषयमा म संवेदनशील भएर अगाडि बढ्नेछु। सरकारले उपलब्ध गराउने उपयुक्त जग्गा पुर्जा वितरणमा धनीपुर्जा वितरण गर्ने संघीय सरकारको पहल भइरहेका छन्। त्यसकारण संघले निर्देशन दिने बित्तिकै हामी पनि काम अघि बढाउँछौं।”

भुमि अधिकार तथा श्रमिक संगठन, नेपाल मकवानपुरका अध्यक्ष यज्ञलाल श्रेष्ठको नेतृत्वमा बुझाइएको ९ बुँदे ज्ञापनपत्रमा यथाशीघ्र नापी भएका ठाउँमा लालपुर्जा वितरण गर्न माग गरिएको छ।
ज्ञापनपत्रमा आव २०८१/०८२ को बजेट विनियोजनमा भूमि व्यवस्थासम्बन्धी समस्याको समाधानका लागि प्राथमिकताका साथ अधिकतम बजेट व्यवस्था गर्न र पालिका तहमा नापी नभएका वडामा छिटोछरितो काम सम्पन्न गर्न दक्ष कर्मचारी व्यवस्थापन गर्न माग गरिएको छ।

आयोगले कार्यलाई यथाशीघ्र सम्पन्न गर्नुपरने, दलित सुकुम्बासी, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्याको समाधान गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरिएको छ। साथै, अनौपचारिक जग्गामा बसोबास गरिरहेका व्यक्तिहरूको स्थलगत अध्ययन गरी रिपोर्ट सार्वजनिक गर्न र कुनै स्थानबाट नहट्न आग्रह गरिएको छ।