हेटौंडाबाट १०५ किलो ६९ ग्राम गाँजासहित थिङ पक्राउ

पालिका संचारकर्मी
९ कार्तिक २०८१, शुक्रबार १२:४६

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१९ नेवारपानी क्षेत्रमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एकजनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम सडकखण्डमा शंका लागेपछि एउटा पिकअप गाडी रोकी जाँच गर्दा १०५ किलो ६९ ग्राम लागू औषध गाँजा बरामद गरेको हो।

यर्ही कार्तिक ७ गते नेवारपानीस्थित जंगलको छेउमा रोकी राखिएको बागमती प्रदेश ०१–०२५ च ७८७१ नम्बरको योद्धा पिकअप गाडीलाई जाँच गर्दा हेटौंडा–३, बसामाडीका २४ वर्षीय पन्चलाल थिङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। जाँचका क्रममा उक्त गाडीमा तीनवटा बोराभित्र राखिएको, रातो प्लास्टिकले बेरिएको १० वटा पोका गाँजा फेला परेको हो।

पक्राउ परेका थिङसँगै लागू औषध र गाडीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ।