साफ महिला च्याम्पियनसिपको सेमिफाइनलका खेल आज, नेपालको सामना भारतसँग

पालिका संचारकर्मी
११ कार्तिक २०८१, आईतवार १२:०७

काठमाडौँ । काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुदै छन् ।

आज पहिलो सेमिफाइनल खेल बंगलादेश र भुटानबीच अपराह्न साढे १ बजे दशरथ रंगशालामा हुने तालिका रहेको छ । त्यस्तै दोस्रो सेमिफाइनल खेल नेपाल र भारतबीच साँझ साढे ६ बजेदेखि शुरु हुने छ ।

समुह ए बाट बंगलादेश र भारत सेमिफाइनलमा पुगेका छन् भने समुह बी बाट नेपाल र भुटान सेमिफाइनलमा पुगेका हुन् ।

बंगलादेश समुह ए मा २ खेलमा ४ अंक हासिल गर्दै समुह विजेता बनेर सेमिफाइनल खेल्ने भएको हो । बंगलादेशले पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो भने भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै समुह विजेता बनेको थियो । त्यस्तै भारतले भने पाकिस्तानविरुद्ध ५–२ को जित निकालेको थियो । त्यस्तै समुह ए बाट पाकिस्तान भने तेस्रो हुदै समुह चरणबाट बाहिरिएको थियो ।

त्यस्तै समुह बी मा भने नेपाल समुह विजेता हुदै सेमिफाइनलमा पुगेको छ । नेपालले ३ खेलमा ७ अंक हासिल गरेको छ । नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा माल्दिभ्सलाई ११–० ले र तेस्रो खेलमा श्रीलंकालाई ६–० ले पराजित गरेको थियो । नेपालले तिन खेलमा कुल १७ गोल गर्यो भने कुनै गोल खाएको छैन ।

त्यस्तै भुटान भने ३ खेलमा ७ अंकनै हासिल गर्दै गोल अन्तरको आधारमा नेपालभन्दा पछि परेपछि उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ ।

भुटानले पहिलो खेलमा नेपालसँग गोल रहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ४–१ ले र तेस्रो खेलमा माल्दिभ्सलाई १३–० ले पराजित गरेको थियो ।