मकवानपुरमा दुइ वटा सवारी दुर्घटनामा तीन जना घाइते

पालिका संचारकर्मी
२० कार्तिक २०८१, मंगलवार ११:०९

हेटौंडा । मकवानपुरमा दुइ वटा सवारी दुर्घटनामा तीन जना घाइते भएका छन् ।

मनहरी गाउँपालिका–९, खरंगा नजिकै पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा दुई जना सैनिक कर्मचारी घाइते भएका छन्। चितवनबाट हेटौंडातर्फ जाँदै गरेको मधेस प्रदेश–०३०३४ प २८९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा उक्त दुर्घटना भएको हो।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सल्यान बाघचौर नगरपालिका–४ डाँडा गाउँ निवासी २९ वर्षीय गणेश पुन र पछाडि सवार रुपन्देही बुटवल उपमहानगरपालिका–१३ बयलबास निवासी २८ वर्षीय निखिल पाण्डेलाई उपचारका लागि चुरेहिल अस्पताल लगिएको छ। गणेश पुनको शरीरका विभिन्न भागमा चोट लागेको छ भने निखिल पाण्डेको टाउको, हात, र खुट्टामा चोटपटक लागेको छ।

प्रदेशका अनुसार कार्तिक १९ गते साँझ ५ः३० बजे भएको यो दुर्घटनामा घाइते भएका दुवैजनाको परिचय मध्यपूर्वी पृतना शिक्षालय, सर्लाही लालबन्दीमा तालिमरत लेस नायकको रुपमा खुलेको छ। दुर्घटनामा मोटरसाइकल अनियन्त्रित भएको कारण देखिएको छ। थप उपचारका लागि साँझ ६ः५५ बजे दुवैजनालाई सैनिक अस्पताल छाउनी, काठमाडौं पठाइएको छ।

हेटौंडा उपमहानगरपालिका–८, कमानेस्थित मनकामना चोकमा भएको सवारी दुर्घटनामा एक चार वर्षीय बालक घाइते भएका छन्। बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार ना ३५ प ६१०० नम्बरको स्कुटरले ठक्कर दिँदा प्रमिला के.सी.का छोरा आयन्स न्यौपाने घाइते भएका हुन्। बालकलाई ठक्कर दिएपछि कानबाट रगत बग्न थालेको र उनलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको थियो।

प्राथमिक उपचारपछि थप उपचारका लागि भरतपुरको नयाँ मेडिकल कलेजमा रिफर गरिएको छ। बालकका ठुली आमा उर्मिला के.सी.ले घटना सम्बन्धी जानकारी दिएकी छन्।

स्कुटर चालक काठमाडौँ तारकेश्वर नगरपालिका–१० बस्ने ४५ वर्षीय शान्ति थापालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ भने, स्कुटरलाई नियन्त्रणमा लिने प्रक्रिया जारी छ।