उपकरण मर्मतमा ढिलाइ हुदाँ अझै सुरु हुन सकेन हेटौंडा सिमेन्टको उत्पादन, सिमेन्ट बिक्रीको काम निरन्तर
हेटौंडा । निर्धारित समयमा उपकरण मर्मतको काम नसकिदा हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ भएको छ । उद्योग व्यवस्थापनले तिहारपछि सिमेन्ट उत्पादन सुरु गर्ने भनिए पनि विभिन्न उपकरण मर्मतको काम नसकिँदा अझै उत्पादन सुरु हुन नसकेको हो ।
पहिले उत्पादन गरिएको सिमेन्ट बिक्रीको काम भइरहेपनि सिमेन्ट उत्पादनको काम भने अझै दुइ साता लाग्ने उद्योग व्यावस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले बताए । अध्यक्ष भण्डारीले उपकरण मर्मतमा ढिलाइ भएका कारण योजनाअनुसार उत्पादन सुरु गर्न नसकिएको बताए ।
उद्योगको क्लिनिकलरलगायत उपकरणको मर्मतकार्य अझै भइरहेकै छ । हामीले तिहारसम्ममा मर्मत सकिन्छ र लगत्तै पुनः उत्पादन सुरु हुने अनुमान गरेका थियौँ । तर अझै उपकरण मर्मतको काम नसकिएकाले उद्योग सञ्चालन हुन अझै करिब १५ दिन लाग्न सक्छ, उनले भने ।
उद्योगबाट बितेको असोज १५ गतेदेखि उत्पादन बन्द गरिएको थियो । उपकरण मर्मतका लागि भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले यससम्बन्धी काममा थप समय लागेको जानकारी दिनुहुँदै अध्यक्ष भण्डारीले तीव्र रूपमा मर्मतसम्भार भइरहेकाले छिट्टै सकिने र त्यसलगत्तै उत्पादन सुरु गरिने बताए ।
हामीसँग कच्चा पदार्थको कुनै अभाव छैन । उद्योगलाई चाहिने करिब चार सय मेट्रिक टन कोइला मौज्दात छ । थप कोइला खरिद प्रक्रिया अघि बढिसकेको छ, त्यसैले कोइलाको समस्या छैन, उनको भनाइ थियो ।
आर्थिक अभावका कारण यसअघि दुई महिना उद्योग बन्द भएको थियो । गत भदौ महिनाको तेश्रो साताबाट सिमेन्ट उत्पादन सुरु गरेको उक्त उद्योगले यसअवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको अध्यक्ष भण्डारीले बताए । विसं २०३३ सालमा हेटौँडाको लामसुरेमा स्थापना गरिएको उक्त उद्योगले विसं २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो ।