हेटौंडा १२ को उपनिर्वाचनः कुन पार्टीबाट को उम्मेदवार ?
हेटौंडा । प्रमुख राजनीतिक दलले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को रिक्त वडाध्यक्ष पदका लागि यही मंसिर १६ गते हुने उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवारको टुंगो लगाएका छन्।
गत २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट सो वडाको वडाध्यक्षमा निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित भएपछि वडाध्यक्ष पद रिक्त भएको हो।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार मंसिर २ गते उम्मेदवारी मनोनयन दर्ता हुनेछ। नेपाली कांग्रेसले अर्जुन तिवारीलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस हेटौंडा नगर समितिका सभापति उत्सव इटेनीले बताए।
नेकपा (एमाले) ले राजेश नगरकोटीलाई उम्मेदवारका रूपमा प्रस्तुत गरेको छ भने नेकपा (माओवादी केन्द्र) ले रविन प्रधानलाई उम्मेदवार बनाएको छ।
ठूला दलसँगै नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उम्मेदवार टुङ्गो लगाएका छन्।
पार्टीको वडा, नगर र जिल्ला कार्यसमितिको संयुक्त बैठकले आशा वीरबललाई उम्मेदवार बनाउने निर्णय गरेको रास्वपा हेटौंडा नगर सभापति ध्रुवबहादुर विष्टले बताए।
एकीकृत समाजवादीले बलराम बल र राप्रपाले प्रेम लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उपनिर्वाचन नजिकिएसँगै सो वडामा चुनावी सरगर्मी पनि बढेको छ। गत निर्वाचनमा प्रमुख तीन दलबीच नै प्रतिस्पर्धा भएको थियो।