हेटौंडा–१२ को अध्यक्षका लागि राप्रपाका भ्लोनको उम्मेदवारी दर्ता
हेटौंडा । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उम्मेदवारी दर्ता गराएको छ । हेटौंडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पदका राप्रपाका प्रेमबहादुर भ्लोनले उम्मेदवारी दर्ता गराएका हुन्।
राप्रपाका नेता तिलक बहादुर जर्गा समर्थक तथा हिरामणी चौलागाईको प्रस्तावकमा वडाध्यक्ष पदका उम्मेदवार भ्लोनले उम्मेदवारी दर्ता गराएका हुन्।
हेटौंडा उपमहानगरपालिका–१२ राप्रपाको बलियो पकड मानिने वडा हो। यसअघि २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा यस वडाको वडाध्यक्ष उम्मेदवार बनेका थिए। यस वडामा ८ हजार ५३ मतदाता छन् , जसमा महिला ४ हजार १७४, पुरुष ३ हजार ८७८ र अन्य १ मतदाता रहेको निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईले जानकारी दिइन्।