मकवानपुरमा पशु कल्याणका नियम कागजमै सीमित
हेटौंडा । पशुलाई एक ठाउँबाट अर्को ठाउँमा ढुवानी गर्दा आवश्यक मापदण्ड पूरा नगरे कारबाहीको भागिदारी बन्नुपर्ने नियमको कार्यान्वयन प्रभावकारी हुन सकेको छैन । पशु ढुवानीका क्रममा मकवानपुर भएर त्रिभुवन राजपथ, कान्तिराजपथ, पूर्व पस्चिम राजमार्ग भएर आवश्यक मापदण्ड पूरा नगरीकन ओसार पसार गर्ने गरीएको छ ।
मकवानपुर प्रहरीले आक्कलझुक्कल कारबाही चलाएको देखिन्छ तर पशु अधिकारकर्मीहरू सरकारी निकायले नियमको प्रभावकारी अनुगमन गर्न नसकेको बताउँछन् । पशु ढुवानीको मापदण्ड पुरा नगरेको भएर केही दिन अगाडी मकवानपुरको मनहरीमा सचेत गरेर पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक स्यामु अर्यालले बताए । जानकारीमा आए सम्म पशु ढुवानी मापदण्ड पुरा गर्न लगाएको उनले बताए ।
हरेक दिन शरीर रक्ताम्मे बनाएर मासुका लागि भारत हुँदै ठुलो सङ्ख्यामा राँगा, भैँसी, खसीबोकाको ढुवानी मकवानपुर भएर काठमाण्डौं लैजाने गरिउको छ । तर, सरकारी निकायले प्रभावकारी अनुगमन गर्न सकेको छैन । पशु अधिकारकर्मीको लामो प्रयास र आन्दोलनपछि पशुलाई ढुवानी गर्न आवश्यक नीतिलाई समेटेर पशु ढुवानीसम्बन्धी २०६४ को मापदण्ड तथा पशु कल्याण निर्देशिका २०७३ बने पनि कार्यान्वयन हुन नसकेको हो ।
पशुलाई एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्दा आठ घण्टाभन्दा धेरै हिँडाउन नपाउने व्यवस्था गरे पनि त्यो कार्यान्वयनमा नआउँदा पशुले दुःख कष्ट पाउँदै आएका छन् । गाडीमा ढुवानी गर्दा अधिकतम ४८ घण्टामा गन्तव्य पुर्याउन नै पर्ने हरेक आठ घण्टामा तल झारेर दानापानी दिएर मात्र अघि बढाउनुपर्ने निर्देशिकामा उल्लेख भए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन ।