फ्राइडे रिलिजः ‘तेल भिसा’ भर्सेज ‘अग्निदहन’
काठमाडौँ । आज शुक्रबारदेखि देशभरका फिल्म हलहरूमा दुई नयाँ नेपाली फिल्महरू प्रदर्शनमा आएका छन् । फिल्म हुन् – ‘तेल भिसा’ र ‘अग्निदहन’ । यी दुवै फिल्म फ्राइडे रिलिज अन्तर्गत एक–अर्कोसँग प्रतिस्पर्धा गर्न उत्रिएका हुन् । ‘तेल भिसा’का निर्देशक शंकर घिमिरेले निर्देशन गरेका हुन् भने ‘अग्निदहन’मा घनश्याम लामिछानेको निर्देशन रहेको छ । यद्यपि देशभरका फिल्म हलमा यी दुवै फिल्मले कब्जामा जमाउन पाएको छैनन् । किनभने केही साताअगाडि रिलिज भएको फिल्म ‘पुर्णबहादरको सारङ्गी’ र अघिल्लो साताको ‘ह्रस्व दीर्घ’ले पनि अझै धेरै हल ओगटेर बसेका छन् ।
‘तेल भिसा’:
विपिन कार्कीको दोहोरो भूमिका रहेको फिल्म ‘तेल भिसा’ अमेरिकामा बसोबास गरेका नेपालीहरूले त्यहाँ पुगेर भोग्नु भएका समस्या, पीडा तथा दुःखलाई चित्रण गरिएको फिल्म हो । मल्टिप्लेक्स तथा सिंगल थिएटरहरूमा उत्साहजनक शो पाएको फिल्ममा विपिनको अलावा वर्षा राउत, ऋचा घिमिरे, पूजा चन्द, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ ।
अधिकांश दृश्यको छायाङ्कन अमेरिकामै गरिएको फिल्म अनिल पाण्डे तथा शिवराज कार्कीले निर्माण गरेका हुन् । अभिनेत्री ऋचा घिमिरेको प्रस्तुतकर्ता रहेको फिल्म शंकर घिमिरेले निर्देशन गरेका हुन् । घिमिरेले लामो समयपछि यसै फिल्म मार्फत निर्देशनमा कमब्याक गरेका हुन् ।
फिल्ममा सुशन प्रजापतिको छायाङ्कन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत र अजय खड्काको सम्पादन छ ।
‘अग्निदहन’:
‘अग्निदहन’ साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’मा आधारित रहेर निर्माण गरिएको फिल्म हो । प्रकाश घिमिरे, माओत्से गुरुङ, कोविदशरण उपाध्याय, अनुपमा भण्डारी, प्रमीला तुलाचन, तुलसी क्षेत्री, ताराबहादुर गुरुङलगायतको अभिनय फिल्ममा छ ।
फिल्मको बुधबार साँझ प्रिमियर भएको थियो । सुन्धारस्थित सिभिल मलको हलमा आयोजित प्रिमिएरमा कलाकर्मी तथा रंगपत्रकारले फिल्मलाई उत्कृष्ट प्रतिक्रिया दिएका थिए ।
घनश्याम लामिछाने निर्देशित फिल्ममा लोकमणि पौडेलको कथा, पटकथा तथा संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको सहायक निर्देशन, दीर्घ गुरुङको छायाङ्कन, दीर्घ खड्काको सम्पादन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन छ । फिल्मलाई चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको छ ।