क्यानडाबाट हिजो फर्किएका थिए, आज मृत भेटिए होटलमा

पालिका संचारकर्मी
९ मंसिर २०८१, आईतवार १३:११

काठमाडौं । काठमाडौंको सिनामंगलमा मृत फेला परेका श्रीमान श्रीमती रहेको खुलेको छ। काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित एक होटलको चौथो तलाको बरण्डामा आइतबार बिहान साढे ७ बजे दुई जना झुण्डिएको अवस्थामा फेला परेका थिए। उनीहरू श्रीमान–श्रीमती रहेको खुलेको छ। प्रहरीले होटलबाट दुवैको पासपोर्ट पनि फेला पारेको छ।

मृतक सुनसरीका ३४ वर्षीय रमेश माझी र मोरङकी २९ वर्षीया शर्मिलाकुमारी माझी रहेको खुलेको घटनास्थलमा खटिएका एक प्रहरी अधिकारीले बताए। । दुई जनाको पहिचान खुलेसँगै प्रहरीले परिवारलाई सम्पर्क गरेको थियो। उनीहरूलाई सम्पर्क गर्न श्रीमान–श्रीमती रहेको खुलेको हो। ‘परिवारले छोरा–बुहारी हो भनेर भनेका छन्। उहाँहरू आउँदै हुनुहुन्छ,’ ती अधिकारीले भने।

दुबैजना शनिबार मात्रै क्‍यानडाबाट काठमाडौं आएको पनि ती अधिकारीले बताए। ‘उहाँहरू क्यानडाबाट फर्किएको देखियो। छोरा–बुहारीबारे परिवारले पनि दुई वर्षअघि क्यानडामा गएका भनेका छन्,’ उनले भने।

उनीहरू दुबै जना शनिबार साँझ पौने ७ बजे होटलमा पुगेका थिए। उनीहरू कोठा नम्बर १२० मा बसेका थिए।

दुबै जना बरण्डाको रेलिङमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। प्रहरीले घटनास्‍थलबाट नोट फेला पारेको छैन। मृत्युको कारण खुलिसकेको छैन।

घटनास्थलमा प्रहरी वृत्त गौशाला, प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको छ। अहिले फरेन्सिक टोली पनि पुगेर अनुसन्धान गरिरहेको छ।