बागमती प्रदेशः मन्त्रालय टुक्रा पार्दा संघबाट सचिब आउनै मान्दैनन्, दुईजना सचिवलाई अर्को २ मन्त्रालयको पनि जिम्मेवारी
हेटौंडा । बागमती प्रदेशमा मन्त्रालयहरु निरन्तर रुपमा टुक्रा पारिरहँदा सचिबहरु यस प्रदेशमा आउनै नमान्ने अवस्था सृजना भएको छ । संघीय सरकार मातहत रहेका सहसचिब प्रदेशमा सचिव हुने व्यावस्था रहेको छ । तर, उनीहरु आउन नमान्दा प्रदेशमा धेरै मन्त्रालयहरु सचिब बिहिन हुन पुगेको छ ।
प्रदेशमा पनि ११ औं तहका कर्मचारीहरु एक दर्जन भन्दा बडी छन् । तर, ती प्रदेश सचिब स्तरका कर्मचारीलाई संघीय सरकारको कारण मन्त्रालयका सचिबको जिम्मेवारी दिन पनि अप्ठेरो परेको छ । अहिले एउटै सचिबले एउटा भन्दा बडी मन्त्रालय चलाउनुपर्ने अवस्था सृजना भएको छ । बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले दुई सचिवलाई थप जिम्मेवारी दिने निर्णय गरेको छ।
उक्त बैठकले साविक सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैरैलाई युवा तथा खेलकुद मन्त्रालयमा र उद्योग वाणिज्य भूमी तथा प्रशासनको मन्त्रालयका सचिव राजेन्द्र केसीलाई संस्कृति तथा पर्यटन मन्त्रालयको थप जिम्मेवारी तोक्ने निर्णय गरेको बागमती प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए। प्रदेशमा सचिव स्तरको कर्मचारी अभाव हुँदा दैनिक कार्य प्रभावित भएपछि अन्य मन्त्रालयमा कार्यरत सचिवहरूलाई थप जिम्मेवारी तोकेको उनले बताए ।