हेटौंडा–१२ मा वडा अध्यक्ष पदका लागि मतदान सुरु, ८ हजार ५३ मतदाता

पालिका संचारकर्मी
१६ मंसिर २०८१, आईतवार १०:०२

हेटौंडा । स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौँडा उपमहानगरपालिका–१२ मा एक वडा अध्यक्ष पदका लागि मतदान सुरु भएको छ । कडा सुरक्षा व्यावस्थाका बिचमा २ मतदान स्थलमा बिहान ७ बजेबाट मतदान सुरु भएको हो ।

मतदान स्थल वरपर नेपाली सेनाको गस्ती, सशस्त्र प्रहरी र जनपथ प्रहरीको सुरक्षाका बिचमा बिहान ७ बजेबाट मतदान भइरहेको छ । यस वडाबाट निर्वाचित वडाध्यक्ष ललित घलान जिल्ला समन्वय समितिका प्रमुखमा निर्वाचित भएसँगै रिक्त रहेको स्थानमा निर्वाचन हुन थालेको हो । भोर्ले स्थित विष्णु आधारभूत विद्यालय मतदान केन्द्र र सिग्रेनी स्थित प्रतिभा आधारभूत विद्यालय मतदान केन्द्र रहेका छन्। भोर्लेमा ३६२५ र सिग्रेनीमा ४४२८ मतदाता रहेको र दुवै मतदान केन्द्रमा क्रमशः ४ र ५ गरी जम्मा ९ केन्द्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतदान कार्य ५ बजेसम्मलाई तोकिएको छ।

कुल ८ हजार ५३ मतदाता रहेका छन् । २०७९ को स्थानीय तहको निर्वाचनको तुलनामा उपनिर्वाचनमा १ हजार ५८८ मतदाता थपिएका छन् । वडाध्यक्ष पदका लागि १२ जना उम्मेदवार रहेका छन् । जसमध्ये नौजना विभिन्न दलबाट र तीन जना स्वतन्त्ररुपमा उम्मेदवार बनेका छन् । वडाध्यक्षमा एमालेबाट राजेश नगरकोटी, कांग्रेसबाट अर्जुनप्रसाद तिवारी, माओवादी केन्द्रबाट रविकुमार प्रधान, रास्वपाबाट आशावीर बल, राप्रपाबाट प्रेमबहादुर भोलन, जसपाबाट छविलाल वाइबा, मंगोल नेशनल अर्गनाइजेशबाट दीपा लामा, नेमकिपाबाट फूलमाया तितुङ र एकीकृत समाजवादीबाट बलराम बल उम्मेदवार छन् ।