टिकटक बनाउने क्रममा लडेर शिक्षिका र विद्यार्थीको मृत्यु

पालिका संचारकर्मी
७ पुष २०८१, आईतवार ११:३६

विराटनगर । खोलामा टिकटक बनाउन खोज्दा तेह्रथुममा दुई जनाको मृत्यु भएको छ । शनिबार तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–५ मा रहेको गौखुरी माध्यमिक विद्यालयकी नर्स शिक्षिका रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १२ वर्षीया छात्रा सुस्मिता भटराईको मृत्यु भएको हो ।

शनिबार विद्यार्थीसहितको टोली खोरुङ्गा खोलामा नुहाउन गएको थियो । नुहाउने क्रममा मृतक दुईसहित अर्की एक विद्यार्थी टिकटक भिडियो बनाउने भन्दै हिंडेका थिए । भिडियो बनाउने क्रममा दुई जना खोचमा खसे । दुई जना खोचमा खसेको खबर सँगै गएका विद्यार्थीले ल्याएका थिए ।

खोंचमा खसेका कारण दुवै जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डीएसपी चिनिमाया तामाङले बताइन् । उनका अनुसार फोटो भिडियो खिच्ने क्रममा लडेको देखिन्छ ।

खोलामा नुहाउने क्रममा दुई जना विद्यार्थी र शिक्षिका अलिक पर जानु भएको रहेछ, दुई जना लडेको खबरसँगै जानेले विद्यार्थीले ल्याउनु भएको थियो’, उनले भनिन, ‘सँगै जाने विद्यार्थी विछिप्त भएका कारण सबै कुरा खुलिसकेको छैन ।’