जनकपुर बोल्ट्सका समर्थकमाथिको हरकत कुनै पनि बहानामा स्वीकार्न सकिँदैन : गगन थापा

पालिका संचारकर्मी
७ पुष २०८१, आईतवार १५:५३

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनकपुर बोल्ट्सका समर्थकमाथि भएको हरकत दुःख लाग्ने खालको भएको बताएका छन् ।

टीयू क्रिकेट मैदानमा ६ पुसमा नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रतिस्पर्धा भएको थियो । जहाँ उपाथिका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भएको थियो ।

प्रतिस्पर्धा चलिरहँदा जनकपुरका समर्थकमाथि केही समूहबाट आक्रमण भएको भन्दै मधेशी आयोगले घटनामा संलग्नमाथि कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ । यो घटनामा मधेशी आयोगले देखाएको सक्रियता सकारात्मक रहेको नेता थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।

जनकपुर बोल्ट्सका समर्थकप्रति केही व्यक्ति र समूहबाट भएको व्यवहार नश्लीय र साम्प्रदायिक खालको भएको भन्दै उनले घटनामा संलग्नमाथि सरकारले तुरुन्तै कारबाही अगाडि बढाउन आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘जनकपुर बोल्ट्सका समर्थक प्रति केही व्यक्ति र समूहबाट भएको नश्लीय र साम्प्रदायिक व्यवहार निकै दुःख लाग्ने खालको छ । मधेशी आयोगले यसको कानुनी उपचार खोज्दै कारबाही गर्न गृह प्रशासनलाई सिफारिस गरेको छ, जुन एकदमै सकारात्मक छ । सरकारले यसमा तुरुन्तै कारबाही अगाडि बढाओस् । यी हरकतहरू कुनै पनि बहानामा स्वीकार्न सकिँदैन । नो इफ नो बट ।’