यो साता सेयर बजारमा चम्कियो हाइड्रोपावर, किन सुस्तायो बैंकिङ ?

पालिका संचारकर्मी
२६ पुष २०८१, शुक्रबार १५:५९

काठमाडौं । यो साता सेयर बजार ४९ अंक अर्थात् १.९ प्रतिशत बढेको छ । गत साता २५८६ अंकमा बन्द भएको बजार यो साता २६३५ मा बन्द भयो । यो साता पाँच दिनको कारोबारमा ४ दिन बजार बढ्दा अन्तिम दिन बिहीबार घट्यो । पहिलो दिन आइतबार ५.३२ अंक बढेको बजार सोमबार ४९.१२, मंगलबार ६.१६ र बुधबार ६.५३ अंक बढ्यो । बिहीबार भने १८.१४ अंक घट्यो ।

कारोबार रकम पनि बढ्दो लयमा देखिएको छ । आइतबार ४ अर्ब ८६ करोडको कारोबार भएकोमा सोमबार ६ अर्ब ३० करोडको भयो । मंगलबार ५ अर्ब ३८ करोड तथा बुधबार ६ अर्ब ४० करोड र बिहीबार ७ अर्ब ३० करोडको भयो ।

हाइड्रोपावर सेक्टर चम्किँदा किन सुस्तायो बैंकिङ ?

यो साता हाइड्रोपावर सेक्टर सबैभन्दा धेरै ५.५७ प्रतिशत बढ्यो । विगत केही साता हाइड्रोपावर सेक्टरले बजारमा राम्रो लय समातेको छ । बढ्दा धेरै बढ्ने र घट्दा थोरै अंक मात्रै घट्ने अवस्थाले यो सेक्टरप्रति आकर्षण थपिएको छ ।

कुल कारोबार रकममा हाइड्रोपावर सेक्टरको हिस्सा मात्रै आधा हुने गरेको छ । बिहीबार पनि बजारमा कुल ७ अर्ब ३० करोडको कारोबार भएकोमा हाइड्रोपावर सेक्टरको मात्रै ३ अर्ब ७१ करोडको भयो ।

पछिल्लो समय घट्दो ब्याजदरका कारण हाइड्रोपावर कम्पनीको ब्याज लागत घट्न गई वित्तीय विवरण राम्रो देखिन थालेको छ । दोस्रो त्रैमासिक वित्तीय विवरण थप राम्रो आउने अनुमान लगानीकर्ताको छ । जसले गर्दा हाइड्रोपावर सेक्टरमा लगानीकर्ताको आकर्षण देखिएको छ । बैंकहरुमा भने अवस्था ठीक उल्टो छ । बैंकहरुको दोस्रो त्रैमासिक रिपोर्ट केही कमजोर आउने अनुमान गरिएको छ । खासगरी निर्माण व्यवसायीलाई राष्ट्र बैंकले दिएको सहुलियत हटेसँगै दोस्रो त्रैमासिक रिपोर्टमा बैंकहरुको निष्क्रिय कर्जा केही बढ्ने अनुमान छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले निर्माण व्यवसायीलाई साँवा, ब्याज भुक्तानी गर्ने अवधि मंसिर मसान्तसम्म थप गरेको थियो । मंसिर मसान्त सकिँदा व्यवसायीले साँवा, ब्याज भुक्तानी गर्न नसकेपछि त्यसको असर दोस्रो त्रैमासिक वित्तीय विवरणमा पर्ने अनुमान ।

यसले नाफालाई पनि खुम्चयाउँछ । यहीं कारण समग्र बजारको परिसूचक नेप्से बढ्दा पनि बैंकिङ सेक्टर लगातार झरेको छ । यो साता पनि नेप्से १.९ प्रतिशत बढ्दा बैंकिङ ०.३५ प्रतिशत घट्यो ।