मकवानपुरमा अफिमसहित दुई जना पक्राउ

पालिका संचारकर्मी
३० माघ २०८१, बुधबार १२:१७

हेटौंडा। मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका–५ स्थित बोटबारी नजिक पैदल हिँडिरहेका दुई व्यक्तिलाई लागूऔषध अफिमसहित प्रहरीले नियन्त्रणमा लिएको छ।

हिजो (मंगलबार) इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा देखेपछि रोकि खानतलासी लिएको थियो। खानतलासीको क्रममा उनीहरूको साथबाट २ केजी १४० ग्राम लागूऔषध अफिम फेला परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा बाराको कलैया नगरपालिका–४ निवासी १८ वर्षीय दिपक साह र सिम्रनगढ नगरपालिका–१ निवासी १९ वर्षीय शसि मुखिया रहेका छन्। उनीहरूले बोकेको कालो झोलाभित्र प्लास्टिकले बेरिएको अवस्थामा अफिम फेला परेको प्रहरी स्रोतले जानकारी दिएको छ।

हाल दुबै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मनहरीमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।