मकवानपुरगढीका किसानलाई कृषिकर्जा कार्ड वितरण, २५ जनालाई कृषिकर्मका लागि दिइयो दुई-दुई लाख
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले कृषकलाई ऋण लिएर कृषिकर्म गर्न सहजीकरण थालेको छ । यसका लागि पालिकाले कृषकहरुलाई ऋषि ऋण कार्ड वितरण थालेको हो ।
गाउँपालिकाले पालिकाका साना तथा सिमान्तकृत कृषकलाई बैंकबाट ऋण लिनका लागि कृषि ऋण कार्ड वितरण गरेको पालिकाका कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिए ।
प्रमुख चौधरीका अनुसार पालिकाका ८ जना महिला र १७ जना पुरुष गरी २५ जना कृषकलाई कार्ड प्रदान गरिएको हो ।
अबका दिनमा पालिकाका अरुलाई पनि कार्ड वितरण गरिने प्रमुख चौधरीको भनाई छ । कार्ड प्राप्त गरेका प्रति कृषकलाई दुई-दुई लाख लाख रुपिया ऋण दिइएको छ । उनीहरुले यो ऋणबाट कृषिकर्म गर्नेछन् ।
बिना धितो सहुलियत ब्याज दरको ऋण प्रदान गरिएको हो । कृषिकर्जाबाट कृषि तथा पशुपालन क्षेत्रमा पालिकालाई थप कृषिमा अग्रसर गराइने अपेक्षा गरिएको पालिकाका अध्यक्ष विदुर हुमागाईंको भनाई छ ।
कृषि ऋण कार्ड कार्यक्रमका लागि मकवानपुरगढी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समिति, नेपाल बंगलादेश बैंक लि. र आर एण्ड डि ईनोभेटिभ सोलुशन प्रा.लि.बीच चोपक्षीय सहमती भएको छ ।