कांंग्रेस महाधिवेशन : अर्काको समाप्तीमा आफ्नो उन्नती नखोजौँ
साउन १२ देखि तय भएको नेपाली कांग्रेसको महाधिवेशनको चहलपहल केन्द्र देखि पार्टीको तल्लो तह वडा ईकाई सम्मै ब्याप्त भैसकेको छ। वडा तहबाट प्रतिनिधि चयन भएर जिल्ला नेतृत्व हाँक्ने प्रयासमा जिल्ला नेताहरुको रेस बढ्न थालिसकेको छ। कांग्रेसको महाधिवेशनले जिल्लाको कांग्रेस राजनीतिलाई कसरी अगाडी डोर्याउला? नागरिकर्मी देवेन्द्र बस्नेतले कांग्रेसका निवर्तमान जिल्ला सचिव कमलकिशोर घिमिरेसंग कुराकानी गरेका छन्।
कांग्रेसको अधिवेशनबाट दाङ कांग्रेस र कांग्रेसीले गरेको अपेक्षा के हो?
नेपालको सन्दर्भमा लोकतन्त्रको पर्याय हो कांग्रेस। अतः प्रजातान्त्रीक पद्धतिलाई अबलम्बन गर्न सकेनौँ भने सिंगो सिष्टम प्रति नकारात्मक प्रभाव पर्छ। संगसंगै के छ भने नेपालको संवैधानिक व्यवस्था अनुसार हामीले भदौ भित्रमा महाविधेशन गरिन सक्नु पर्ने छ। यद्यपी समस्याहरु धेरै छन्, कोभिडले असहज परिस्थति निर्माण भएको छ। तर, कांग्रेसले महाधिवेशन गर्नु पर्ने बाध्यतासंगै यसलाई अवसरका रुपमा पनि कांग्रेसले प्रयोग गर्नुपर्छ। त्यो प्रयास पार्टीले गरिरहेको छ। दाङमा पनि यो प्रयास सुरु भएको छ। अधिवेशन कुनै एउटा व्यक्तिले नेतृत्व अवसर पाउने, कुनै समूहले नेतृत्व पाउने भन्ने हैन। कांग्रेस एउटा पार्टीका रुपमा मात्रै नबुझ्दा पनि हुन्छ। कांग्रेस मुभमेन्ट पनि हो। कांग्रेस समाजवादी आन्दोलन पनि हो। कांग्रेस राष्ट्रिय जागरणको आन्दोलन पनि हो। यसर्थ कांग्रेसको काँधमा धेरै जिम्मेवारी छन्। ईतिहासलाई हेर्ने हो भने दाङ कांग्रेसको ईतिहास साह्रै गर्व गर्न लायक पनि छ।
साह्रै प्रतिष्ठापूर्ण छ, यद्यपी धेरै पात्रहरुका बारेमा धेरैलाई थाहा नहुन पनि सक्छ। कांग्रेस स्थापनाका लागि धेरै नेताहरुको धेरै ठूलो परिश्रम छ। सामाजिक आन्दोलन प्रतिको विश्वास पनि थियो उहाँहरुमा। प्राप्तीका लागि उहाँहरुले आन्दोलन थाल्नु भएको थिएन, उहाँहरु परिवर्तनका लागि आउनु भएको थियो। पार्टी स्थापनादेखि कांग्रेस दाङमा धेरै जेनेरेशन जन्मिए। ति जेनेरेशनले कांग्रेसको साख जोगाए। मैले यो दोषारोपणका लागि बोलिरहेको छैन। तर पनि हिजोको त्यो कांग्रेसको नेतृत्वको गौरव र अहिलेको नेतृत्वलाई तुलना गर्दा, अहिले भएका गतिविधीहरुको कुरा गरौँ, सामाजिक आन्दोलनको अवस्थाका बारेमा कुरा गरौँ। २००७ देखि ०१७ को कांग्रेसको कालखण्ड र २७ देखि ६२ सम्मको काल खण्ड हेर्ने बेलामा पछिल्लो कालखण्ड निराशाजनक छ। यहिँनेर हो मेरो प्रश्न। फलतः त्यो कांग्रेसको नेतृत्वले छोडेको प्रभाव पुनः स्थापनाका लागि अधिवेशनले भूमिका खेल्नु पर्छ, हामी सबैको अपेक्षा यो बन्नु पर्छ।
कांग्रेसको जिम्मेवारीलाई यो महाधिवेशनले कसरी सम्बोधन गर्ला त?
नेतृत्वका आपसी समझदारीका विषय के थिए? कुन प्रयत्नका माध्यमबाट २००७ देखि ०१७ सम्म त्यो नेतृत्व सफल भयो? ०२७ पछि किन कमजोरी भयो? यदि त्यो आवश्यक हो भने हामीले प्रयास गर्ने कि नगर्ने? ७ देखि १७ मा बेला कांग्रेसका बाहेकको अर्को शक्ति थिएन। सारा सबैको नेतृत्व कांग्रेसमा थियो। बीचमा समस्या भयो। ०२७ पछि पुनः ट्र्याकमा आयो। तर, हिजोको त्यो अवस्था र भित्र हुने गरेका सहमति, सहकार्यका उदाहरण छन्, तिनले प्राप्ती पनि दिएका छन्। अहिले दाङको मोर्चा कांग्रेसको हातमा छैन। त्यस कारण ऐतिहासिक ओज कायम गर्ने हो भने दाङको मोर्चा कांग्रेसको हातमा आउनु पर्छ।
अहिले भएको समस्या के हो?
सुरुमा त कांग्रेस भित्रको प्रवेश कसरी भयो भन्ने हो? मनदेखि कि बुद्धिबाट। अहिले पछिल्लो अवस्थामा हामी राजनीतिसंग लाभ लिने अवस्थामा छौँ। तर, कांग्रेसभित्रको एकता कायम गर्ने बेला हजारौँको प्रयासबाट सम्भव हुने हो, नेतृत्व एकजनाले गर्ने हो। दाङकै कुरा गर्ने बेला के सबै जिल्ला सभापतिहरु मन्त्री हुनु भयो? माननीय हुनु भयो? मेयर हुनु भयो? नेतृत्वकर्ताले सहयोग गर्ने साथीहरुको अनुहार आफ्नो अनुहारबाट प्रतिबिम्व गर्ने, कामबाट व्यक्त गर्ने हुनु पर्थ्यो तर त्यो भएन। अब ढिला भैसकेको छ। अहिले पनि हामी आत्म केन्द्रित भएर, आफूलाई केन्द्र बिन्दुमा राखेर संगठनटबाट प्राप्तीको मात्रै कुरा गर्यौँ भने हामीले अरुलाई अवसर दिने त टाढाको कुरा, हामीले पनि कुनै जनताबाट पाउने अवसर पाउने अवस्थामा रहने छैनौँ, म ठोकुवा गरेर भन्न सक्छु। त्यहि भएर पछिल्लो गतिविधी, सहार्य, एकताको बाटो खोल्ने हुनुपर्छ भन्ने मेरो भनाई हो।
कांग्रेसको यो रोगमा महाविधेशन मल्हम बन्न सक्ला त?
बन्नु पर्छ। बनाउनु पर्छ। हामी त नाफा, घाटा भित्रको खेल भित्रका खेलाडीहरु हौँ तर साथीहरु बोलौँ। जो साथीहरु कांग्रेस कमजोर भएको अवस्थाले चिन्तीत हुनुहुन्छ, उहाँहरु बोल्नु पर्छ। कुनै व्यक्तिका पछाडी लागेर हैन, एक्लै हिँडेर मुक्ती पाउनु हुन्न भनेर साथीहरुले भन्नु पर्छ। अर्घेल्याईँ जसबाट भएको हो, त्यो पनि भन्नु पर्छ। कांग्रेस कमजोर भएको अवस्थामा शेरबहादुर देउवाको प्रधानमन्त्री हुने कुर्सी मात्रै गएको छैन, रामचन्द्रको प्रधानमन्त्री बन्ने सम्भावना तुहिएको मात्रै छैन। नेताहरुको मन्त्री हुने सम्भावना मात्रै गएको छैन। कांग्रेसमा मत हाल्ने मतदाताहरको शान गुमेको छ। पधेँरामा जाने बेलामा कांग्रेसलाई मत हाल्ने दिदीबहिनीहरु नबोलेर लाईन कुरेर पछाडी बस्नु पर्ने अवस्था छ। चिया खाने ठाउँमा छाती खुला पारेर बोल्ने अवस्था छैन। कांग्रेस स्वार्थ समूहको मात्रै हो? कांग्रेस मन्त्री, सांसद, केन्द्रीय सदस्य, प्रधानमन्त्री, पदाधिकारी बन्नेहरुको मात्रै हो? यदि कांग्रेस सामाजिक आन्दोलन हो भने आम कांग्रेस कार्यकर्ताहरु बोलिदनुस्।
कांग्रेस पराजित हुँदा जजसले पीडा भोग्नु भएको छ, उहाँहरुले बोल्नुस्। यदि एकता भएन भने हार्ने तपाईहरु मात्रै हेन, हामीले पनि हार्छौँ भन्नुस्।
यसमा केन्द्रको बढि दोष कि पार्टीको हरेक पंक्तीमा यो समस्या हो?
यसमा दुईवटा कुरा छ। गाउँमा काम गर्ने कार्यकर्ताको यसमा दोष छैन, प्राप्तीका लागि लडेका कार्यकर्ताहरु बीचको समस्या हो यो। हामी प्राप्त गरेका बीचको समस्या हो यो। हामीले प्राप्त गर्ने कुरा केन्द्रीय नेतृत्वसंग भनसुन गरेर पाउन सक्छौँ। त्यो बेला हामीले भन्यौँ? न्यायका आधारमा अवसर देउ भनेर नेतृत्वलाई भन्यौँ? मैले आफूलाई म मात्रै भन्दै गर्दा अरुलाई निषेध गरेँ त मैले। कति जना जिल्ला सभापतिले टिकट पाए? कति जना क्षेत्रीय सभापतिले पाए? केन्द्रको नेतृत्वलाई पकडेर अवसर प्राप्त हुनछ भने किन हामीले कांग्रेसीको मन जित्नु पर्यो? यो प्रबृत्ति दुरुत्साहित हुनु पर्छ, यसले कांग्रेसलाएई नोक्सानी गरेको छ। प्राप्त गर्नेहरुले आत्म समिक्षा गर्नु पर्यो नि अब। मैले प्राप्त गर्ने बेलामा म भन्दा क्षमतावान साथीहरु माथि अन्याय भयो? प्रजातन्त्र माथि प्रहार भयो? भन्ने प्रश्न आफूले आफूलाई किन सोध्न नसक्ने? कांग्रेसमा कुनै एक नेताको प्रिय बनेपछि सबै पुग्छ र पाईन्छ भन्ने कुरा स्थापित भयो भने संगठन कसले गर्छ? काठमाडौँको सभापति मन्त्री बन्न हुने, बुटवलको सभापति मन्त्री बन्न हुने तर दाङ कांग्रेसको सभापति मन्त्री बन्न नहुने? यदि यहाँ पनि हामी भित्र सहकार्य भएको भए सहज हुन्थ्यो होला नि। अब विगतलाई समिक्षा गर्दै एकताका लागि दाङ कांग्रेसमा साहस जन्मिनु पर्छ। हिजो कांग्रेस भित्र भएका जिम्मेवारी हामीले किन नलिने? त्यो जिम्मेवारी आएको छ। कसैलाई संगठन भन्दा पार्टी प्रमुखको ईच्छा जागेको होला, तर कमजोर पार्टीको प्रमुख हुनुको के अर्थ?
जिल्लाको कांग्रेस राजनीतिमा सहकार्यको वातावरण बनेको हो त?
अहिले सुरु भएको छ। वर्तमान कमजोर भयो भने भविष्य कमजोर हुन्छ, त्यो सबैले बुझेको अवस्था हो। त्यो प्रयास परिणामले देखाउनु पर्यो। देखाउनका लागि प्रयास हुनु भएन। परिणाममुखी बनाउने हो भने,हामी ईमानदार हुनु पर्यो। यो हदभित्र बस्न तयार छौँ भनेर हामी एक भएर लाग्नु पर्यो नि।, हामी नेतृत्व बीचकै बीचमा ईमनदार हौँ, म गत अधिवेशनमा सभापति पदको प्रत्यासी भएँ। मलाई त्यो बेला लागेको थियो, कि म नेतृत्वमा आएँ भने धेरै कुरा गर्न सक्नु भन्ने लाग्थ्यो। तर मलाई अहिले कांग्रेसको नेतृत्वको बीचमा सहकार्य नहुने हो भने कुनै एउटा व्यक्तिले नसक्दो रहेछ भन्ने क्लियर भएँ। तर म निराश भएको पनि हैन, मलाई विश्वास छ, त्यो सुधार्न सकिन्छ। यो सहाकार्य र एकताकै माध्यमबाट सकिन्छ। बिना सहकार्य, निषेधबाट किमार्थ सकिन्न। यसबाट कुनै पनि साथी सुरक्षित रहन सक्दैनन् पनि। यसकारण सहकार्यको प्रयास भएको छ। आफूलाई केन्द्रमा हैन, संगठनलाई केन्द्रमा राखेर अघि बढौँ। को सभापति बन्ने? माननीय को? यो प्रमुख कुरा हैन, कुन तरिकाबाट बन्ने? भन्ने प्रमुख कुरा हो।
स्थानीय चुनावको नजिकै महाधिवेशन हुने भनिएको छ, महाधिवेशनले चुनावलाई असर पार्ला?
अवसरबाट हरेकलाई सन्तुलित बनाउने हो भने धेरै अवसर छ। धेरै सम्भावनाहरुलाई स्थापित गर्न सक्छौँ, वडा हार्ने कांग्रेस, गाउँपालिका हार्ने कांग्रेस हुन्न अब। वडादेखि सबै जित्ने कांग्रेस, मुलुकलाई समृद्ध बनाउने कांग्रेस बनाउने हो। अन्तिम र पहिलो भनेकै एकता नै हो। यो बिना सम्भव छैन। हिजो खमुबहादुर खड्का हुँदा असहमति हुँदा पनि उहाँले नेतृत्व गरेर सबैलाई एक बनाउनु हुन्थ्यो, अहिले त्यो खालको नेतृत्व छ जिल्लामा? पार्टीमा हुने गतिविधीलाई ईमानदारी तरिकाले गरौँ।
कसैले कसैलाई निषेध नहुने अवस्था निर्माण गर्नु पर्यो। मेरो उन्नती अरु साथीहरुको समाप्तीमा छ भन्ने सोचबाट मुक्त होऔँ, मेरो उन्नती अरुको उन्नतीमा मात्रै छ भन्ने सोच्ने हो भने कांग्रेस जहिल्यै सबल र सक्षम सामाजिक आन्दोलनका रुपमा उभिईरहने छ। नागरिकन्यूजबाट