जनताको घरघरमा पुग्दै एमाले मनहरीका उम्मेदवार

पालिका संचारकर्मी
१६ बैशाख २०७९, शुक्रबार १८:४३

मनहरी । नेकपा एमालेबाट मनहरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले गाउँपालिकाका विभिन्न क्षेत्रमा चुनावी प्रचारप्रसार एवम् घरदैलो कार्यक्रम गरेका छन् । शुक्रबार मनहरी गाउँपालिका वडा नं ६ लोथर बजारमा घरदैलो गरेका उम्मेदवारहरु आज ६ नम्बरकै बाँकी ठाउँमा पुगेका हुन् ।

मनहरी गाउँपालिकामा एमालेका अध्यक्षका उम्मेदवार एकराज उप्रेती र उपाध्यक्षका उम्मेदवार सुजिता थिङ, पार्टी गाउँपालिका कमिटीका अध्यक्ष नवीन सुवेदी, वडाका उम्मेदवारहरुसहितको टोलीले मनहरी–६ को विभिन्न क्षेत्रमा पुगी जनतासँग भेटघाट गरेका हुन् ।

मनहरी–६ को घुल्चोक, खयरघारी, जोगिताल, चौकीटोल, बगर टोल क्षेत्रका सबै जनताको घरमा पुगी उम्मेदवारहरुले मत अपिल गरेका थिए । सबै उम्मेदवारसहितको टोलीले घरदैलो कार्यक्रम गरेको थियो । कार्यक्रममा स्थानीयले उम्मेदवारलाई बधाई र शुभकामना दिएका थिए ।

अध्यक्षका उम्मेदवार एकराज उप्रेतीले जनताको आवश्यकता र भावना अनुरुप नै आफुले काम गर्ने बताए । घरदैलो अभियानमा जनताको सुझाव समेत संकलन गरिएको उनले जानकारी दिए ।