धनगढीका मेयरले स्वास्थ्य शाखालाई दिए उपमहानगरले आफ्ना लागि उपलब्ध गराएको गाडी

पालिका संचारकर्मी
२२ असार २०७९, बुधबार १७:०८

धनगढी उपमहानगरपालिकाले आफ्ना लागि उपलब्ध गराएको गाडी मेयर गोपाल हमालले स्वास्थ्य शाखालाई प्रदान गरेका छन् । विशेषज्ञ वडा क्लिनिक सञ्चालन गर्नका लागि भन्दै हमालले स्वास्थ्य शाखालाई गाडी प्रदान गरेका हुन् ।

आफूले निजी गाडी नै प्रयोग गर्ने हमालले बताए । यसअघि उनले नगरले उपलब्ध गराएको गाडी नचढ्ने घोषणा गरेका थिए । नगर प्रमुखको रूपमा व्यक्तिगत रूपमा उपभोग गर्ने गरी प्राप्त हुने कुनै पनि सुविधा नलिने घोषणा गरेका हमालले चुनावी प्रतिबद्धता अनुसार १९ वटै वडामा हरेक महिना विशेषज्ञ स्वास्थ्य क्लिनिक सञ्चाचलन गर्ने बताएका थिए ।

उपमहानगरपालिकालाई स्वास्थ्य क्लिनिक सञ्चालन गर्न आवश्यक उपकरण सामाजिक विकास मन्त्रालयले सहयोग गरेको छ । ‘साउन १ गतेदेखि धनगढीका सबै वडामा तालिकाअनुसार स्वास्थ्य शिविर सञ्चालनमा ल्याउछौँ,’ हमालले भने, ‘हामीले सबै वडामा एक जना कन्सल्टेन्ट फिजिसियन र एक जना स्त्री रोग विशेषज्ञबाट स्वास्थ्य सेवा प्रदान गर्ने तयारी गरेका छौँ ।’
क्लिनिक चलाउन डाक्टर र थप जनशक्ति परिचालन हुने हमालले बताए । नागरिकको घरमै स्वास्थ्य सेवा पुर्‍याउन वडा स्वास्थ्य क्लिनिक सञ्चालन गरिएको उनको भनाइ छ । ‘हाम्रो धनगढी हामी बनाउँछौँ’ भन्ने अभियान अन्तर्गत वडा क्लिनिकमा उपचारसँगै सबै किसिमका औषधि पनि निःशुल्क प्रदान गरिने भएको छ ।

वडा क्लिनिक सञ्चालन गर्न उपमहानगर प्रमुखले चढ्ने गाडी तयार गरी एक समारोहका बीच श्री १००८ स्वामी देवराज आचार्यले स्वास्थ्य शाखा प्रमुख कृष्णबहादुर बोहरालाई हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्य शाखा प्रमुख बोहराले स्वास्थ्य शिविरले नगरवासीलाई घरदैलोमै स्वास्थ्य उपचार सुविधा पाउन सहज हुने बताए । प्रत्येक महिना हरेक वडामा कार्यतालिका बनाएर शिविर सञ्चालन हुनेछ । वषैभरि नै यो सेवा सञ्चालनमा आउने उनले बताए । छिट्टै अन्य सेवाको पनि चिकित्सक थप गर्ने तयारीमा रहेको उनको भनाइ छ । वडास्तरमै उपचार सुविधा दिन यो व्यवस्था गरिएको हो ।

धनगढी उपमहानगरपालिकालाई विशेषज्ञ वडा क्लिनिक सञ्चालन गर्न आवश्यक पर्ने २ जना विशेषज्ञ डाक्टरको तलव र भत्ता भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले व्यहोर्ने सम्झौता यसअघि नै भएको छ ।