कैलाशमा ५१ करोड १५ लाखको बजेट पारित
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाको दशौं गाउँसभाले समृद्ध कैलाश निर्माण गरौं भन्ने सोचका साथ बुधबार ५१ करोड १५ लाख ९८ हजारको बजेट सर्वसम्मत पारित गरेको छ ।
भौतिक पूर्वाधार, कृषि, स्वास्थ्य, पर्यटन, विद्युत, ऊर्जा, शिक्षा, खानेपानी तथा सरसफाई, युवा, खेलकुद, भाषा, संस्कृति, सहकारी क्षेत्रलाई प्राथमिकता दिँदै कैलाश गाउँपालिकाको गाउँ सभाद्वारा आगामी आर्थिक वर्षको बजेट पारित भएको हो ।
गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानका अनुसार बजेटले प्राथमिकतामा पारेका क्षेत्रमा भौतिक एवं सामाजिक पूर्वाधारको विकास गरि कैलाश बासिको जीवनयापनमा सहजिकरण गर्ने, कृषि क्षेत्रको व्यवसायीकरण र आधुनिकिकरण गर्ने, सीपयुक्त मानव विकासमा जोड दिने, जनसहभागिता र पारदर्शिता कायम गरि सुशासन प्रबद्र्धन गर्ने जस्ता कार्यक्रम तय गरिएका छन्।
शिक्षा तर्फ ९४ लाख २२ हजार रुपैंया बजेट विनियोजन गरिएको छ । कैलाश गाउँपालिकाका सबै नागरिकलाई स्वस्थ बनाइ सबल मानव पुँजी निर्माणका लागि संघीय एवं प्रदेश तहसँगको समन्वयमा निशुल्क आधारभुत स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउनका लागि सामाजिक विकासतर्फ ३४ लाख ६५ हजार रुपैंया बजेट विनियोजन गरिएको छ ।
महिला, बालबालिका, अपांग, दलित, पिछडिएका वर्ग, अल्पसंख्यक, सिमान्तकृत, लोपोन्मुख र अति विपन्न वर्गहरुको क्षमता अभिवृद्धि, नेतृत्व विकास र शसक्तिकरणका लागि ८ लाख रुपैंया बजेट विनियोजन गरिएको छ ।
कैलाशका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने उद्देश्यका साथ खेलकुद पूर्वाधारको विकास गर्न तथा खेल मैदान निर्माण गर्न २५ लाख रुपैंया बजेट विनियोजन गरिएको छ । एक घर एक धारा कार्यक्रम र सुख्खा क्षेत्र खानेपानी योजनाका लागि २९ लाख ५० हजार रुपैंया बजेट विनियोजन गरिएको छ ।
प्रथा, परम्परा, संस्कृति सम्पदा, संग्रहालय आदिको विकास र विस्तारका लागि ११ लाख रुपैंया बजेट विनियोजन गरिएको छ । सडक पूर्वाधारको विकासका लागि ८ करोड ५४ लाख ७७ हजार रुपैंया र भवन पूर्वाधारतर्फ १ करोड १२ लाख ५० हजार रुपैंया बजेट विनियोजन गरिएको छ । उज्यालो कैलाश, समृद्ध कैलाश अभियानको रुपमा विकास गरि विद्युत पूर्वाधारको निर्माण गर्न ५० लाख रुपैंया बजेट विनियोजन गरिएको छ ।
सिंचाई क्षेत्रको लागि १० करोड ५३ लाख २६ हजार ५ सय रुपैंया, कृषि क्षेत्रको लागि ३३ लाख रुपैंया, पशुपन्छी क्षेत्रको लागि २२ लाख रुपैंया, घरेलु तथा लघु उद्योग क्षेत्रका लागि ३ लाख ५० हजार रुपैंया, पर्यटन विकास तथा प्रबद्र्धनका लागि ३८ लाख रुपैंया बजेट विनियोजन गरिएको छ । बजेट गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले सभामा पेस गरेका थिए ।