सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

पालिका संचारकर्मी
१६ श्रावण २०७९, सोमबार १६:००

 

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सुत्केरी भएर उपचार गराइरहेकी मुगु, कार्मारोङ गाउँपालिका-७, पाखाकी २८ वर्षीया मान्डिक लामाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

सुत्केरी भएको चौथो दिनमा लामा एक्कासी बेहोस भएपछि सीटी स्क्यान गरिएको थियो । सीटी स्क्यान रिपोर्टमा दिमागमा रगत जमेको देखिएपछि न्युरो सर्जरीका लागि काठमाडौं वीर अस्पतालमा पठाइएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।

सुत्केरी लिन महिला बालबालिका तथा सामाज कल्याण मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टर जुम्ला पुगेको थियो । यही साउन १२ गते लामाको अपरेसन गरेर बच्चा निकालिएको थियो । सुत्केरी हुन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा आएकी लामाको स्वास्थ्य अवस्था चौथो दिनसम्म सामान्य थियो ।

अस्पतालले डिस्चार्ज गर्ने तयारी गरिरहेको थियो । तर एक्कासी बहोस भएपछि चिकित्सकको टोलीले सिटिस्क्यान गरेर हेर्दा दिमागमा रगत जमेको देखिएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक डा. राजिव शाहले जुम्लामा न्युरो सर्जरी हुन नसक्ने भएकोले बिरामीलाई वीर अस्पतालमा रेफर गरिएको जानकारी दिए ।

‘सुत्केरीको दिमागमा रगत जमेको छ । स्वास्थ्य अवस्था निकै नाजुक छ,’ निर्देशक शाहले भने, ‘बच्चाको अवस्था राम्रो छ । न्युरो सर्जरीका लागि पठाउनु पर्ने अवस्था आएपछि सुत्केरीलाई रेफर गरिएको हो ।’