सामान खरिद नगरी साढे ४ लाख रुपैयाँ भुक्तानी गरेका जोशीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पालिका संचारकर्मी
१६ श्रावण २०७९, सोमबार १६:२२

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका तत्कालीन कार्यकारी अधिकृत रामजी जोशीवरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । उनले ४ लाख ४७ हजार ५ सय रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दर्ता गरेको हो ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार खरिद नै नगरिएका सामानहरूको समेत दाखिला प्रतिवेदन बनाई भुक्तानी लिने–दिने कार्य गरिएको भन्दै विशेष अदालतमा सोमवार मुद्दा दर्ता गरिएको हो ।

आर्थिक वर्ष २०७३/०७४ मा फर्निचर खरिद गर्दा वास्तविक मूल्यभन्दा फरक मूल्य राखी कमिसन लिएको, बिलअनुसारका सामान खरिद दाखिला नभई अन्य सामान दाखिला भएको अनुसन्धानबाट खुलेको हो ।

जोशी सरुवा भएपश्चात कार्यालयको स्टोर व्यवस्थापन गर्ने क्रममा कार्यालयमा फेला नपरेका सामानहरु खरिद नगरी वा हिनामिना गरेको सामानको दाखिला प्रतिवेदन बनाई भुक्तानी लिने–दिने कार्य गरेको अभियोगपत्रमा उल्लेख छ ।

फर्निचर तथा इलेक्ट्रोनिक्स सामग्री खरिद गरिएकोमा खरिद भएका सामग्रीहरूमध्ये ४ लाख ४७ हजार ५ सय रुपैयाँ बराबरका सामग्रीहरु कार्यालयमा नरहेको देखिएकाले जोशीविरुद्ध मुद्दा दर्ता गरिएको अख्तियारले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।