कोसीको बाढी बस्तीमा छिर्ने त्रासले स्थानीयहरू सुरक्षित स्थानतर्फ जाँदै
राजविराज । पहाडी जिल्लाहरूमा परेको निरन्तर वर्षाका कारण सप्तकोसी नदी कटान र ओभरफ्लो भइ उदयपुर जिल्लाको बेलका नगरपालिका ८ डुम्रीबोटे नजिकै नदी बस्तीतर्फ सोझिने खतरा बढेको छ ।
उक्त स्थानमा सप्तकोसी नदीको बाढी नदीभन्दा बाहिर आए उदयपुरको बेलका नगरपालिकासहित सप्तरीसम्मका बस्ती प्रभावित हुने सम्भावना छ । बेलका नगरपालिका ८ मा कोसी नदी बस्तीतर्फ सोझिएर पुरानो धारमा पस्ने अवस्था आउन सक्ने भएकाले स्थानीयहरू सुरक्षित स्थानतर्फ सर्न थालेका छन् ।
निरन्तरको वर्षाका कारण पानीको सतह बढेको र पछिल्ला केही वर्षयता कोसी नदीको धार पश्चिमतर्फ धकेलिएकाले अहिले नदी बस्तीमा पस्ने खतरा बढेको हो ।
जलस्रोत तथा सिँचाइ विभागका उप महानिर्देसक समेत रहेका प्रवक्ता कृष्णप्रसाद नेपालले कोसी नदीको पानीको सतह बढ्दा उदयपुरको बेलका नगरपालिका नजिक असहज स्थिति आएको बताए । ‘अहिले २ लाख २५ हजार क्युसेक प्रति सेकेन्डका दरले बहाब भइरहेको छ, जुन बहाव बढी हो,’ प्रवक्ता नेपालले भने, ‘ओभरफ्लो हुन सक्ने अवस्थाका कारण असहज स्थिति आएको छ, आपतकालीन रोकथामका कार्य भइरहेको छ ।’
यसअघि गत असारमा पनि उक्त स्थानमा समस्या हुँदा विभागले रोकथामको काम गरे पनि स्थायी समाधान हुन सकेको थिएन । ‘बेलका नगरपालिकासित निरन्तर समन्वय र सम्पर्कमा छौं’ प्रवक्ता नेपालले भने, ‘नगरपालिकासितको समन्वयमा अहिले पनि आपतकालीन रोकथामको कार्य भइरहेको छ ।’
नदी बस्तीतर्फ सोझिने खतरा बढेपछि अहिले बेलका नगरपालिका वडा नम्बर ३ का स्थानीयहरू सुरक्षित स्थानतर्फ सर्न थालेको नगरप्रमुख अशोक कार्कीले बताए । नगरपालिकाले बाढी पसेर प्रभावित हुन सक्ने क्षेत्रका स्थानीयहरूलाई सुरक्षित स्थानमा जान माइकिङ समेत गरिरहेको छ ।
पूर्वी पहाडमा लगातारको वर्षातसँगै सप्तकोसी नदीमा आएको बाढिले पश्चिम तटीय क्षेत्रमा दुई सातायता कटान तीव्र पारेको थियो । अहिले जोखिम रहेको स्थानमा बाढी बस्तीतर्फ सोझिए पश्चिम तटीय क्षेत्रका २० हजार भन्दा बढी मानिस विस्थापनको उच्च जोखिमा पर्ने छन् । दुई वर्षयता पश्चिम किनारतर्फ धकेलिएको कोसीले डुम्रीबोटेमा कटान गरिरहेको हो ।
कोसी छिर्दा उदयपुरको बेलका नगरपालिकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरी लगायत बस्तीका १ हजार ७ सय परिवारका २० हजार बढीको बसोबास जोखिममा पर्ने छ । त्यस्तै छिमेकी जिल्ला सप्तरीको सप्तकोसी र कन्चनरुप नगरपालिका साथै सुनसरीमा समेत क्षति पुग्ने खतरा छ ।
अहिले कटान गरिहेको डुम्रीबोटे क्षेत्र रोक्न सकिएन भने जोखिम निश्चित रहेको बेलका नगरपालिका प्रमुख अशोक कार्कीले बताए । कार्कीका अनुसार डुम्रीबोटेमा कटान भएका कोसी पुरानै धार हुँदै बग्ने निश्चित छ । २०४५ सालअघि कोसी ७ नम्बर स्पर दक्षिण डुम्रीबोटे हुँदै बग्ने गरेको स्थानीयहरू बताउँछन् ।
‘कोसीले अब डुम्रीबोटेमा ७ – ८ मिटरमात्रै कटान गरेमा जोखिम हुन्छ,’ नगरप्रमुख कार्कीले भने, ‘तर अहिले कटान रोक्नका लागि स्थानीय, प्रदेश र संघीय सरकारले प्रयास गरिहेको छ ।’ सिँचाइ विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, स्थानीय बासिन्दा, नगरपालिका कटान रोक्ने प्रयास गरिरहेको उनले बताए ।
कोसी कटानको त्रासले सर्वसाधण घरमा बास बस्नै छोडेको बेलका नगरपालिका – ३ का वडाध्यक्ष टंक आर्चायले बताए । ‘झण्डै एक सातायता धौरी र श्रीलंका टाप्पु, बाधडाँडा, भागलपुर लगायत सर्वसाधण रातभर घर बस्नै छोडे,’ उनले भने, ‘सर्वसाधारणलाई कटानबाट हुने जोखिमका लागि सतर्क हुन आग्रह गरिएको छ ।’ त्यसैले पनि होला सर्वसाधाण रातभर जाग्राम बस्दै आएका छन् ।’
सप्तकोसी नदीमा पानीको सतह बढेपछि तटबन्ध छेउका सप्तरी जिल्लाका बस्तीमा हाई अलर्ट गरिएको छ । पानीको अत्यधिक चाप रहेको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ डलवा र मध्यकोसीमा रहेको वडा नम्बर १३ गोबरगाढामा हाई अलर्ट गरिएको सप्तरीका प्रहरी प्रमुख एसपी अभिनारायण काफ्लेले जानकारी दिए । सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी कोसीको पश्चिमी तटबन्धको निगरानी गर्ने कार्य भइरहेको छ ।
एसपी काफ्लेका अनुसार मंगलबार बिहान ११ बजे गरिएको मापन अनुसार कोसी ब्यारेज भएर २ लाख १६ हजार ८५ क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाब भइरहेको छ । कोसी बयारेजका ३२ वटा ढोका खोलिएको छ ।
पानीको सतह बढेसँगै टापु बस्ती गोबरगाढास्थित विद्यालय नजिक कटान पुगेको छ । नगरपालिकाले कटान हुन सक्ने सम्भावित जोखिमका कारण यसअघि नै सो विद्यालयको छानामा रहेको जस्ता र ढोकाहरू खालेर सुरक्षित स्थानमा राखेको छ । पानी बढेसँगै गोबरगाढाका २० घरमा पानी पसेको हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र माझीले जानकारी दिए ।
यस्तै कोसीमा पानीको सतह बढेसँगै हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नम्बर १४ डलवास्थित स्परमा कटान लागेको छ । सो वडाका वडाध्यक्ष कृष्णकुमार यादवका अनुसार डलबास्थित स्परमा कटान लाग्दा स्थानीय त्रसित भएका छन् । कटान नियन्त्रणका लागि भारतीय कोसी योजनाका ठेकेदारहरू काम सुरु गरे पनि पानीको दवाव अत्यधिक रहेकाले नियन्त्रण हुन नसकिरहेको वडाध्यक्ष यादवले बताए ।