विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द

पालिका संचारकर्मी
१९ श्रावण २०७९, बिहीबार १५:१०

 

रुकुम पश्चिम । विद्यार्थीमा कोरोना देखिएपछि रुकुम पश्चिमको एक विद्यालय बन्द गरिएको छ । त्रिवेणी गाउँपालिका-३, को युवा जनजागरण माविका ७ जना विद्यार्थीमा कोरोना पुष्टि भएको थियो ।

विद्यार्थीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि सबै विद्यार्थीको परीक्षण गरिएको थियो । विद्यालयमा रहेका २० जना विद्यार्थीमा एन्टिजेनमार्फत गरिएको परीक्षणमा ७ जना विद्यार्थीमा कोरोना संक्रमण देखिएको प्रधानाध्यापक कृष्ण खड्काले जानकारी दिए ।

गाउँपालिकाको स्वास्थ्य शाखाको टोली विद्यालयमै पुगेर एन्टिजेन टेस्ट गरेको थियो । संक्रमण देखिएपछि पहिलो पटक २९ गतेसम्मका लागि विद्यालय बन्द गरिएको र अवस्था हेरी थप निर्णय गर्ने प्रधानाध्यापक खड्काले बताए । विद्यार्थीमा अचेत हुने, रुघाखोकी लाग्ने, टाउको दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखिएको थियो । पछिल्लो समयमा जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।