राष्ट्रिय प्रसारणमा जोडिँदै कालिकोटका बस्तीहरू

पालिका संचारकर्मी
२४ श्रावण २०७९, मंगलवार १५:२१

कालिकोट । जिल्लाको अति विकट गाउँपालिका महाँवै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहको पहलमा जिल्ला सदरमुकाम मान्मबाट जुम्ला ल्याइएको लाइनबाट महाँवै गाउँपालिकाको पादमघाटमा राष्ट्रिय प्रसारण लाइन जडान गरी गाउँमा विद्युत् सेवा पु‍र्‍याइएको हो ।

गाउँको विकासका लागि शिक्षा, स्वास्थ्य, सडक, विद्युत र रोजगारी पहिलो प्राथमिकता दिनुपर्ने गाउँपालिका अध्यक्ष सिंहले बताए। उनले भने, ‘राष्ट्रिय प्रसारण लाइनबाट बिजुली गाउँपालिकाको केन्द्र पादमघाटमा पहिलो पटक पुगेको छ। अब हामी सबै वडामा लाइन विस्तार गरी उज्यालो गाउँपालिका बनाउादैछौँ।’ यसबाट धेरै कामहरू गर्न सहज हुने उनले बताए।

गाउँपालिकाको केन्द्रमा बत्ति नभएकै कारण इन्टरनेटको समस्या थियो। इन्टरनेटकै कारण गाउँपालिकाका अत्यावश्यक सेवा पनि जिल्ला सदरमुकामबाट गर्नुपर्ने समस्या थियो। गाउँपालिकाका सेवाहरू अब थप व्यवस्थित रूपमा सञ्चालन हुने उनको भनाइ छ।

उनले भने, ‘हामीले चालु आर्थिक वर्षको बजेटलाई पनि शिक्षा, स्वास्थ्य, सडक, विद्युत र रोजगारी केन्द्रित गरेका छौँ। चालु आर्थिक वर्षभित्रै गाउँपालिकाका सबै वडामा सडक, सबै घरमा शुद्ध खानेपानी र बिजुली, एक घर एक रोजगारी, सबैको पहुँचमा गुणस्तरीय शिक्षा, सबै वडामा आधारभुत स्वास्थ्य सेवाको लक्ष्य पूरा गर्नेछौँ।’

स्थानीय सरकार भनेको जनताको आँगनको सरकार भएकाले जनताका आवश्यकताहरू क्रमशः पूरा गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए।

कालिकोटबासीको मागअनुसार एक वर्षअगाडि जिल्ला सदरमुकामसमेत रहेको खाँडाचक्र नगरपालिकामा राष्ट्रिय प्रसारण लाइन पुगेको थियो। पूर्वउर्जा मन्त्री तथा कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पहलमा झण्डै तीन वर्ष लगाएर दैलेखबाट कालिकोट राष्ट्रिय प्रसारण लाइन तानिएको हो। त्यसपछि स्थानीय सरकारको पहलमा जिल्लाका अन्य स्थानीय तहमा पनि यसको विस्तार गर्ने कार्य भइरहेको छ।

यस्तै जिल्लाको तिलागुफा नगरपालिका पनि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। जुम्लाको सिमानामा रहेको यो नगरपालिकामा विद्युत सेवा अभाव हुँदा टेलिफोन सेवा सञ्चालन हुन सकेको थिएन। सोलार बत्तीबाट सञ्चालन गरिएको टेलिफोन टावर दिनमा आउने र राति जाने समस्या थियो।

नगरपालिका उपप्रमूख महेन्द्रबहादुर शाहीले भने, ‘नगरपालिकामा राष्ट्रिय प्रसारण लाइन पुगेको छ। यसलाई बस्तीहरूमा विस्तारको काम भइरहेको छ। अब गाउँ पनि उज्यालो हुनेछ। टेलिफोन सेवा पनि चौबिसै घण्टा नियमित बन्नेछ।’ यस्तै जिल्लाका अन्य रास्कोट नगरपालिका, पलाँता गाउँपालिका, पचालझरना गाउँपालिका, सान्नीत्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकामा पनि राष्ट्रिय प्रसारण लाइन विस्तारका लागि काम अगाडि बढिरहेको छ। जिल्लाको एक मात्र पोत्मारा साना जलविद्युत आयोजना बाढीले बगाएपछि अन्धकार बनेको कालिकोट राष्ट्रिय प्रसारण लाइनले फेरि उज्यालो बन्ने अपेक्षा गरिएको छ।

तर, उक्त लाइनबाट आउने बत्ती पनि नियमित नहुँदा समस्या भएको स्थानीय नरेश शाहीले बताए। उनले भने, ‘जिल्लामा राष्ट्रिय प्रसारण लाइन जोडिएपछि नियमित बत्तीको अपेक्षा गरेका थियौँ। तर अहिले राष्ट्रिय प्रसारण लाइनबाट आएको विद्युत पनि आउनेजाने हुन्छ। नियमित बत्ती आउँदैन।’