कांग्रेस पदाधिकारी बैठक धुम्बाराहीमा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । बिहीबार दिउँसो आफ्नो निवास धुम्बाराहीमा बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पदाधिकारी बैठकमा देउवाले पार्टीका शीर्ष नेताहरूलाई समेत आमन्त्रण गरेका छन् । कांग्रेसको केन्द्रीय समिति बैठक १५ माघमा सारिएको छ । पहिले २२ पुस र २८ पुसमा बस्ने भनिएको बैठक माघमा सारिएको हो ।
कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेपछि चौतर्फी आलोचना भएको छ । आलोचनाकै बीचमा देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।
आगामी ५ माघमा प्रतिनिधिसभाको सभामुखको निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा छलफल गर्न देउवाले पदाधिकारी बैठक बोलाएको स्रोतले बतायो ।