आममाफी पाएका अरुण चौधरी भन्छन्- ममाथि प्रतिशोध साँधियो
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का नेता अरुण कुमार चौधरी कारागारमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आममाफी पाएपछि आइतबार उनी कारगारमुक्त भएका हुन् ।
उनलाई नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठले कारगार पुगेर स्वागत गरेकी थिइन् । १८ दिन कारागार बसेर रिहा भएकाले चौधरीले आफूमाथि प्रतिशोध साँधिएको आरोप लगाएका छन् ।
गत ४ मंसिरमा भएको निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका चौधरीलाई ट्याक्टर जलाएको आरोपमा ९ वैशाख २०७० मा कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जनामाथि ६ महिना कैद र ८ लाख १९ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो ।
उनीमाथि ३ भदौमा २०६६ मा बन्दको अवज्ञा गरेको भन्दै ट्याक्टर जलाएको आरोपमा सो सजाय सुनाइएको थियो ।
तर, उनी प्रहरीको फरार सूचीमा रहँदै आएका बेला उनी गत माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए ।