कलंकी–महाराजगञ्ज सडक खण्डको निरीक्षण, स्वयम्भूका संरचना नभत्काइने
काठमाडौं । उपप्रधान तथा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसहितको टोलीले बिहीबार कलंकी–महाराजगञ्ज सडक खण्डको निरीक्षण गरेको छ ।
मन्त्री श्रेष्ठ, नेपालका लागि चिनियाँ राजदूत छन सोङ, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह, नेपाल विद्युत् प्राधिकरणका कार्यकार निर्देशक कुलमान घिसिङसहितको टोलीले कलंकी–महाराजगञ्ज सडक खण्डको संयुक्त निरीक्षण गरेको हो ।
निरीक्षणपछि मन्त्री श्रेष्ठले कलंकीदेखि महाराजगञ्जसम्मको सडक विस्तारको काम चाँडै सुरु हुने र यसमा चीन सरकार सहमत भइसकेको जानकारी दिए ।
उनले सो सडकखण्डमा पर्ने स्वयम्भूका संरचनाहरु नभत्काइकन सडकको डिजाइन परिवर्तन गर्ने सहमति भएको जानकारी दिए । तर, बिजुलीका पोल र सडक छेउमा रहेका मन्दिरहरु भने सारिने उनले बताए ।