नेपाललाई पपुवा न्युगिनीको मध्यम लक्ष्य

पालिका संचारकर्मी
१९ फाल्गुन २०७९, शुक्रबार १५:२३

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीले नेपाललाई मध्यम लक्ष्य दिएको छ ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको पपुवा न्युगिनीले ४९.२ ओभरमा १० विकेट गुमाउँदै १७९ रन बनाएको हो ।

पपुवा न्युगिनीका लागि ओपनरद्वय टोनी उरा र किप्लिन डोरिगाले राम्रो सुरुवात गरेका थिए । उनीहरुले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरे । उराले ३९ रन बनाउँदा डोरिगा २६ रनमा आउट भए । मुख्य ब्याटर सेसे बाउले ११ रनमै आउट हुँदा कप्तान असद भालाले समान ११ रननै जोडे ।

यस्तै, हिरि हिरिले ३१ रन, गौडी टोकाले १५ रन, चाड सोपरले ९ रन, रिले हेकुरेले ९ रन, नर्मन भानुआले १४ रन, सेमो कामले २ रन र हिला वारेले ३ रन बनाए ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरी र सोमपाल कामीले समान दुई-दुई विकेट लिँदा करन केसी, सन्दीप लामिछाने र कुशल मल्लको नाममा एकरएक विकेट रह्यो ।