सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिने एमाले संसदीय दलको निर्णय

पालिका संचारकर्मी
२१ फाल्गुन २०७९, आईतवार १२:००

काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

आइतबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिने निर्णय गरेको एमाले प्रदेश सचिव तथा प्रदेश सभा सदस्य धर्मराज पाठकले जानकारी दिए ।

२६ माघमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले आज विश्वासको मत लिँदै छन् ।

माओवादी केन्द्रले यथास्थीतिमा मत दिन नसक्ने भन्दै केन्द्रिय कार्यालय, पेरिसडाँडालाई खबर गरेको छ भने उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले दलिय सहमतीको लिखित हस्ताक्षर बिना बिश्वासको मत दिन सकिदैन्’ भन्ने प्रस्ट पारेकी छिन् । दुवै पार्टीले मन्त्रालय भागबन्डामा कांग्रेस अनुदार देखिएको भन्दै तत्काल मत दिन नसकिने जनाएका हुन । तीन दलसँग प्रदेश सभामा ३४ प्रदेश सभा सदस्य रहेको छन् । प्रदेशमा मुख्यमन्त्रीले विश्वासाको मत पाउनका लागि २७ प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने छ ।

नागरिक उन्मुक्ति पार्टीले समेत प्रदेश मुख्यमन्त्री शाहलाई विश्वासको मत दिएको अवस्थामा प्रदेश सरकारलाई दुई तीहाई समर्थन हुने छ ।

मुख्यमन्त्री बन्दा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि माघ २६ गते एमाले नेतृत्वमा बनेको रावल नेतृत्वको सरकार ढलेको थियो ।

रावलले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा कांग्रेस प्रदेश संसदीय दलका नेता कमल बहादुर शाह मुख्यमन्त्री बनेका थिए ।