सप्तरीमा डिजे बन्द गर्न माग
सप्तरी । सप्तरीमा डिजे बन्द गर्न राजनीतिक दलका नेताहरूले सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई आग्रह गरेका छन् ।राजनीतिक दलका नेताहरूले डिजेले एक किसिमको आतंक मच्चाउँदै आएकोले तत्काल रोक्न आग्रह गरे ।
पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष उमेश कुमार यादवले डिजेका कारण स्वस्थ्य व्यक्ति पनि अस्वस्थ्य हुन थालेकोले डिजे अविलम्ब बन्द गर्न माग गरेका हुन् । उनले डिजेको साउन्डले मुटुको धड्कन बढाउँदै व्यक्तिको ज्यानसमेत लिन सक्ने भएकोले यसलाई तत्काल नरोके दुर्घटना हुन सक्ने बताए ।
नेपाली कांग्रेसका जिल्ला सचिव सनत कुमार मण्डलले केही दिन अगाडि मात्रै डिजे बजाउँदा महादेवा गाउँपालिकामा एक व्यक्तिको ज्यानै गएको जानकारी गराउँदै उनले पनि डिजे बन्द गर्न माग गरे । डिजे बन्द नभए धेरै व्यक्ति मुटुको रोगी हुन सक्ने भन्दै उनले अविलम्ब बन्द गराउन प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी थापाले डिजे बन्द गराउन प्रशासन तयार रहेको बताए । यसबारेमा छिट्टै निर्णय गर्ने जानकारी समेत दिए ।