प्रचण्डको निर्देशन- ‘सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिनू, गठबन्धन कायम राख्नू’
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन निर्देशन दिएका छन्।
दाहालले माओवादी केन्द्र सुदूरपश्चिमका संसदीय दलका नेता खगराज भट्टलाई टेलिफोनमार्फत मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन निर्देशन दिएका हुन्।
‘विश्वासको मत दिनू, आठ दलीय गठबन्धन कायम राख्नु’ भन्ने निर्देशन अध्यक्ष प्रचण्डबाट आएको भट्टले जानकारी दिए ।
शनिबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा छलफल नभएको भन्दै यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको थियो । त्यसको जानकारी मुख्यमन्त्री शाहलाई माओवादी संसदीय दलका नेता खगराज भट्टले शनिबारै अध्यक्ष प्रचण्डलाई गराएका थिए ।