पत्रकार भुजेलको निधनप्रति महासंघद्वारा शोक व्यक्त

पालिका संचारकर्मी
२३ फाल्गुन २०७९, मंगलवार १३:३४

काठमाडौँ । नेपाल पत्रकार महासंघ दोलखा शाखाका सदस्य शेरबहादुर भुजेलको निधनप्रति नेपाल पत्रकार महासंघले दुःख व्यक्त गरेको छ । पत्रकार भुजेलको ३८ वर्षको उमेरमा गएराति दोलखाको पवटीस्थित निवासमा निधन भएको हो । भुजेल महासंघ दोलखा शाखाका पूर्वकोषाध्यक्ष थिए ।

विगत दुई दशकदेखि दोलखामा रहेर सक्रिय पत्रकारिता गरिरहेका भुजेलले कालिन्चोक एफएममा समाचार प्रमुखका रूपमा काम गरेका थिए । कालिन्चोक सन्देश साप्ताहिकमा समेत काम गरेका भुजेल पछिल्लो समय इदैनिक खबर अनलाइनमा सम्पादकका रूपमा कार्यरत थिए । स्वर्गीय भुजेलका श्रीमती, एक छोरा र एक छोरी छन् ।

‘भुजेलको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र ऊर्जाशील युवा पत्रकार गुमाएको छ भने महासंघले सक्रिय सदस्य गुमाएको छ ।नेपाल पत्रकार महासंघ स्वर्गीय भुलेजप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दछ,’ महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।