बैंक तथा वित्तीय संस्थामाथिको लुटपाट र आक्रमण रोक्न माग
काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले ब्याजदरको विषयलाई अतिरञ्जित बनाउँदै विगत केही समयदेखि बैंक तथा वित्तीय संस्थाहरुलाई निशाना बनाएर ब्याज मात्र होइन, साँवा समेत नतिर्ने धम्कीसहित दिएकोमा आपत्ति जनाएको छ ।
साथै विभिन्न स्थानमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमाथि आक्रमण तथा लुटपाटका नियोजित घटनाले बैंकिङ क्षेत्र त्रसित र तरंगित बनेकाले यस्ता गतिविधि नियन्त्रणमा लिन सरकारसँग माग गरेको छ ।
परिसंघले मंगलबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘बैंकिङ सेवा जस्तो अत्यन्तै संवेदनशील क्षेत्रमाथि भएका यस्ता उछृंखल, अव्यवहारिक, अराजक गतिविधि र निमुखा कर्मचारीमाथि आक्रमण गर्ने जस्ता निन्दनीय कार्यहरु सदाका लागि रोक्नका लागि कडा निर्देशन जारी गर्दै कानुन हातमा लिएर आफ्ना अभीष्ट पुरा गर्न खोज्नेहरुलाई तत्काल कठघरामा उभ्याइ आवश्यक कारबाही गर्न नेपाल सरकार तथा मातहतका निकायहरुको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं ।’
साथै परिसंघले देशको अर्थव्यवस्था नै धराशायी बनाउने गरी रचिएका यस्ता अवाञ्छित क्रियाकलापहरू यसरी नै अगाडि बढ्ने हो भने भोलि स्वयं राज्य र आम जनताले व्यहोर्नुपर्ने क्षति आंकलन नै गर्न नसकिने चेतावनी दिएको छ ।
‘यसप्रति सचेत रहँदै देशको अर्थतन्त्रको रक्तसंचारकोरुपमा रहेको बैंकिङ सेवालाई भयरहित वातावरणमा सञ्चालन हुने अवस्थाको सृजना गर्न/गराउन नेपाल सरकार, मातहतका निकाय र सरोकारवाला सम्पूर्ण पक्षहरुमा हार्दिक अपिल गर्दछौं’, परिसंघका सचिव कुशप्रसाद मल्लीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।